समाज


खोटाङका तत्कालीन दुई जिल्ला शिक्षा अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङका तत्कालीन दुई जिल्ला शिक्षा अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार २६, २०८२ बिहिबार १८:२२, काठमाडौँ

जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं र गणेश प्रसाद भट्टराई समेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी चापाागाईं र भट्टराईसहित तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्य, तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठ, तत्कालीन सब-इन्जिनियर शिवराज राई, श्री जनता उच्च माध्यमिक विद्यालय, बतासेका तत्कालीन प्रधानाध्यापक तथा विद्यालय भवन निर्माण समितिका सदस्य हेम्वर बस्नेत, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भवन निर्माण समितिका सदस्य दिलिप कुमार राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चर्च बहादुर विश्वकर्मा र चारकोठे विद्यालय भवन निर्माण गर्ने व्यक्ति बबेन्द्र राईविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको अख्तियारको भनाई छ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७०।७१ मा १० लाख रुपैयाँ र २०७१।०७२ मा १४ लाख गरी जम्मा रु.२४ लाख रुपैयाँ तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङले जनता उच्च माध्यमिक विद्यालयको लागत अनुमान रु.३२ लाख १० हजार ८६४ रुपैयाँ ९० पैसा भएको ४ कोठे आरसीसी भवन निर्माण कार्यको लागि अनुदान दिने भनी २०७० फागुन १२ मा सम्झौता भएको थियो।

आरसीसी फ्रेम तथा गारोको जग खनी डीपीसी टाइ बिमसम्मको कार्य सम्पन्न भएपछि कुल अनुदान रकमको बढीमा २० प्रतिशत र कार्यसम्पन्न भएपश्चात अन्तिम किस्ता बापतको रकम निकासा गर्ने भनिएकोमा सम्झौताको शर्त विपरीत डीपीसी सम्मको काम सम्पन्न नहुँदै अन्तिम किस्तासमेत गरी २४ लाख रकम जिल्ला शिक्षा कार्यालय, खोटाङले जनता उच्च माध्यमिक विद्यालयलाई निकासा गरे गराएको देखिएको छ।

यस्तै, आ.व. २०७४।७५ मा पुस्तकालय व्यवस्थापन तथा किताब खरिदको लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विद्यालयलाई प्राप्त भएको रु.६ लाख ५० हजार समेत बद्‍नियत राखी उक्त चारकोठे विद्यालय भवन निर्माणमा प्रयोग गरे गराएको, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्राविधिक टोलीले जनता उच्च माध्यमिक विद्यालय बतासेमा निर्माण भएको चारकोठे आर.सी.सी. भवन निर्माण कार्यमा रु.१६ लाख २५ हजार ९४६ रुपैयाँ रकम बराबरको काम भएको अख्तियारको ठहर छ।

उनीहरूले आफूहरूलाई लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई हानि पुर्‍याउने बद्‍नियतले निर्माण सम्झौताको शर्त विपरीत कम गुणस्तरको सामग्री प्रयोग गरी गराई निर्माण कार्य गरे गराएको, निर्धारित मापदण्ड विपरीत कार्य गरे गराएको एवं झुट्टा बिल भरपाई लगायतको कागजात तयार गरी ३० लाख ५० हजार रुपैयाँ बराबरको रकम भुक्तानी लिए दिएको अख्तियारको दाबी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad