समाज


‘भोटेकोसीको बाढी ठूलो वर्षाका कारण आएको हो भन्ने देखिएन’ (भिडिओ)

‘भोटेकोसीको बाढी ठूलो वर्षाका कारण आएको हो भन्ने देखिएन’ (भिडिओ)

नेपालखबर
असार २४, २०८२ मंगलबार २०:०, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले रसुवास्थित भोटेकोसी नदीमा मंगलबार बिहान एक्कासि बाढी आउनुको कारण वर्षा नभएको बताएको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार प्रारम्भिक अध्ययनले भोटेकोसीको बाढी ठूलो पानी परेका कारण आएको हो भन्ने नदेखिएको जानकारी दिएका हुन्। 

यसैले भोटेकोसी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेका कारण ती फुटेर बाढी आएको आशंका गरिएको उनले बताएका छन्। यो पत्ता लगाउन बाढी पूर्वानुमान शाखाले अध्ययन थालेको छ। 

बाढी शाखाका प्रमुख विनोद पराजुलको भनाइ जस्ताको तस्तै:

हाम्रा जल तथा मौसमी केन्द्रहरूले दिएको विवरण र हाम्रो प्रारम्भिक अवलोकनका आधारमा भोटेकोसीको बाढी ठूलो पानी परेका कारण आएको हो भन्ने देखिँदैन। नेपाल चीन सीमानजिकै रहेको क्यान्जिङ मौसमी केन्द्र र धुन्चेमा रहेको मौसमी केन्द्र त्यहाँ फाटफुट मात्रै पानी परेको देखाएका छन्। पाल्पामा रहेको मौसमी राडारले रसुवाको सीमावर्ती क्षेत्रमा पानी परेको देखाएको छैन। विश्व मौसम संगठनको फ्लासबोर्ड गाइडेन्स सिस्टमको भूउपग्रह वर्षा अनुमानका अनुसार पनि भोटेकोसी जलाधार क्षेत्रमा गएको २४ घण्टामा पानी परेको देखिँदैन। यी विवरणले पानी परेका कारणले बाढी आएको भन्न सकिँदैन। भोटेकोसी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमतालहरू छन्। त्यसैले बाढीको सम्भावित कारण पत्ता लगाउन नदी क्षेत्रको किनारमा यसको असर के भयो भनेर आकलन गर्न हामीले भूउपग्रहको तस्बिर अध्ययनको प्रक्रिया पनि अगाडि बढाएका छौँ।  बाढीको विवरणबारे कुरा गर्नुपर्दा असार २४ गते बिहान ३ बजेतिर तिब्बत क्षेत्रबाट भोटेकोसी नदीमा एक्कासि बाढी पसेको देखिन्छ। बाढीका कारण पानीको सतह रसुवाको टिमुरेमा साढे ३ मिटर बढेको थियो। रसुवामा भोटेकोसी र त्रिशूली नदी किनारमा ठूलो प्रभाव परेको प्रारम्भिक आकलन छ। नुवाकोटमा त्रिशूली नदी किनार क्षेत्रमा मध्यम प्रभाव परेको छ भने धादिङको बेनिघाटसम्म सामान्य प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभागले यस बाढीको निरन्तर अनुगमन गरिरहेको छ। बाढी घट्दो क्रममा रहेको भए पनि सावधानी अपनाउन आवश्यक छ। 

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad