समाज


न्याय परिषद् सदस्य भण्डारीको आज बिदाइ, १४ गतेसम्म बैठक नबस्ने

न्याय परिषद् सदस्य भण्डारीको आज बिदाइ, १४ गतेसम्म बैठक नबस्ने

रामप्रसाद भण्डारी


नेपालखबर
असार ९, २०८२ सोमबार १२:१२, काठमाडौँ

न्याय परिषद्का सदस्य वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी ‘सम्भव’ चार वर्षे कार्यकाल सकिएर आज घर फर्किँदै छन्। उनको बिदाइमा आज न्याय परिषद्मा विशेष कार्यक्रम पनि राखिएको छ।

भण्डारी २०७८ असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद् सदस्य नियुक्त गरेकी थिइन्। न्याय परिषद्मा प्रधानमन्त्रीको सिफारिसमा एक जना विज्ञ कानुन व्यवसायीलाई सदस्य नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

न्याय परिषद्का तत्कालीन सदस्य लक्ष्मीबहादुर निरालाको २०७८ वैशाख २१ गते कोरोना महामारीका कारण निधन भएपछि भण्डारी त्यस पदमा नियुक्त भएका थिए। 

प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्मा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश र अर्को एकजना नेपाल बार एसोसिएसनले सिफारिस गर्ने कानुनविद् सदस्य हुन्छन्।

भण्डारीको ठाउँमा नयाँ सदस्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई सिफारिस गरिसकेका छन्। उनको संसदीय सुनुवाइको प्रक्रिया पनि अघि बढिसकेको छ।

न्याय परिषद्ले उच्च अदालतमा करिब दुई दर्जन न्यायाधीश नियुक्तिको तयारी गरिरहँदा न्याय परिषद् सदस्य भण्डारी बिदा हुन लागेका हुन्। अब कम्तीमा यही असार १४ गतेसम्म न्याय परिषद्को बैठक बस्ने छैन। किनभने, न्याय परिषद् सदस्य एवं वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल युरोप भ्रमणमा गएकी छन्। एक कार्यक्रमका लागि उनी पोल्यान्डको वार्सा पुगेकी छन्। असार १४ गते मात्र उनी स्वदेश फर्किने कार्यक्रम छ।

न्यायाधीश मल्ल स्वदेश फर्किएपछि मात्र बैठक बस्ने समझदारी भएको न्याय परिषद् स्रोतले जनाएको छ।

उनी फर्किएपछि असार १८ गते विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा सर्वोच्चको संवैधानिक इजलासबाट निर्णय सुनाउनुपर्नेछ। यसअघि जेठ २८ गते प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीशबीच दिनभर छलफल भए पनि इजलास निर्णयमा पुग्न सकेको थिएन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad