डिजिटल मिडिया फाउण्डेशन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयुक्त आयोजनामा खोज पत्रकारिता, डिजिटल पत्रकारिता र एआई सम्बन्धी तालिम आयोजना गरिएको छ।
शुक्रबार आयोजित तालिममा जिल्लाका २५ जना सक्रिय पत्रकार सहभागी थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले प्रविधिको विकाससँगै पत्रकारमा पनि प्राविधिक ज्ञान बृद्धि हुन जरुरी रहेकी बताइन्।
अध्यक्ष खड्काले समाचार लेखनसँगै डिजिटल प्रविधिको प्रयोग सम्बन्धि ज्ञान हुन जरुरी रहेकोमा जोड दिइन्।
‘प्रविधिको ज्ञानले समाचार सङ्कलनमा सहजता प्रदान गर्छ,’ उनले भनिन्, ‘नयाँले मात्र होइन, पुराना पत्रकारले पनि प्रविधिको प्रयोग गरेर समाचारकक्षलाई अझ प्रभावकारी बनाउन सकिन्छ।’
तालिममा सहभागीलाई प्रशिक्षक प्रवेश सुवेदी र उमेश श्रेष्ठले प्रशिक्षण दिएका थिए। उनीहरुले प्रविधिको प्रयोज, अनलाइन स्रोत तथा एआर्इ प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा पत्रकारहरुलाई प्रशिक्षण दिए।
प्रशिक्षणका क्रममा प्रशिक्षक सुवेदीले खोज पत्रकारिता र अहिले डिजिटल प्रविधि तथा त्यसका टुल्सबारे पत्रकारहरुलाई जानकारी गराएका थिए। उनले पत्रकारले सूचना लिन र दिन के कस्ता गुगल टुल्स प्रयोग गर्ने भन्ने सन्दर्भमा पत्रकारहरुलाई जानकारी गराए। त्यस्तै खोजी पत्रकारिताको लागि कसरी विषय उठान गर्ने र गहिराइमा कसरी पुग्ने भन्ने सन्दर्भमा सुवेदीले स्पष्ट पारे।
त्यस्तै अर्का प्रशिक्षक उमेश श्रेष्ठले अहिलेको दुनियाँमा जोगिएर प्रविधिको प्रयोग गर्नुपर्ने र प्रविधिलाई सहायताका रूपमा लिँदा समाचार सङ्कलन र तथ्य जाँचमा सहज हुने बताए।
कार्यक्रममा इन्टरनेशनल अलर्टकी प्रतिष्ठा थापाले पत्रकारितालाई प्रभावकारि बनाउन आफूहरूले तालिममा सहयोग गरिरहेको र भोलिका दिनमा पनि यस्ता कार्यक्रम गरिने बताइन्।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिसँगै सामाजिक रूपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए।
उनले जिल्लामा क्रियाशील पत्रकारलाई डिजिटल प्रविधिबारे नयाँ विषयवस्तुका बारेमा जानकारी दिनको लागि तालिमको आयोजना गरिएको जानकारी दिए। प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी लाग्नु पर्नेमा उनको जोड थियो
युरोपियन युनियनको आर्थिक सहयोग र इन्टरनेशनल अलर्टको प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको महांघले जनाएको छ। कार्यशालामा उपस्थित पत्रकारले कार्यशालापछि धेरै प्राविधि ज्ञान प्राप्त भएको बताएका थिए।
Shares

प्रतिक्रिया