पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गरेको छ। पाठकलाई आफैँ उपस्थित हुन अनुरोध गर्दै मंगलबार सूचना जारी गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले बताए।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको थियो।
सोमबारमात्रै उच्च अदालत पाटनले दिलभूषण पाठकलाई ‘कानुनबमोजिम बाहेक धरपकड नगर्न’ प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकका तर्फबाट दायर निषेधाको निवेदनमा सुनुवाइ गरेपछि यो आदेश जारी भएको हो। अन्तरिम आदेशका लागि छलफलका लागि अदालतले असार ५ गते (बिहीबार) दुवै पक्षलाई बोलाएको छ।
आदेशमा लेखिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सन्दर्भमा विचार गर्दा दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैको कुराहरू सुनी अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न उपयुक्त देखिँदा मिति २०८२।०३।०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरी यी निवेदक दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी छिटो माध्यमद्वारा विपक्षीहरूलाई दिनुहोला।’
यस्तै अदालतले पाठकविरूद्धको पक्राउ पुर्जी खारेज किन नगर्ने भनेर सरकारसँग लिखित जवाफ पनि माग गरेको छ। जवाफ दिनका लागि अदालतले १५ दिनको म्याद दिएको छ।
‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत लिखित जवाफ पेस गर्नू भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नू,’ आदेशमा लेखिएको थियो।

Shares

प्रतिक्रिया