समाज


बर्खामा पनि मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ: खानेपानी मन्त्री

बर्खामा पनि मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ: खानेपानी मन्त्री

नेपालखबर
असार ३, २०८२ मंगलबार ७:४१, काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन्।

सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उनले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताएका हुन्।

‘काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको सफल परीक्षण भएको छ। वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ,’ उनले भने।

वर्षायाममा रिबर्माको पानी मेलम्चीको सुरुङमार्गबाट पठाइने भएपछि अब निर्वाध रूपमा मेलम्चीको पानी बाह्रैमास उपत्यकावासीलाई उपलब्ध गराइने मन्त्री यादवले जानकारी दिए। उनले भने, ‘यो व्यवस्थाले उपत्यकावासीको खानेपानीसम्बन्धी समस्या दिगो रूपमा समाधान हुने अपेक्षा गरिएको छ। आगामी दिनमा काठमाडौँका नागरिकले वर्षायाममा पानीका लागि दुःख पाउनु पर्दैन। हामीले जनताका प्राथमिकता बुझेर जिम्मेवारीपूर्वक समाधान खोजिरहेका छौँ।’

रिबर्माको पानी परीक्षण गरिएसँगै वर्षाका बेला मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै वर्षायाममा पनि काठमाडौँमा नियमित पानी आउने सुनिश्चित भएको मन्त्री यादवले उल्लेख गरे।

वर्षात्को समयमा मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिबर्माबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरणको सम्भावना रहेको अनुगमनपछि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछानेले प्रतिक्रिया दिए।

उनले भने, ‘‍त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचना तयार भइसकेका छन्। हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौँमा पथान्तरणको सफल परीक्षण गरिएको छ। अब वर्षात्को समयमा पनि काठमाडौँमा पानी बन्द हुने छैन।’

विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक लामिछानेले बताए।

मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू यहाँ २४सै घण्टा खटिएका छन् भने बाढी, पहिरोलगायत मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरुङमार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको छ।

विसं २०७८ को बाढीले मेलम्चीको मुहानमा पुर्‍याएको क्षतिपछि वर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा अवरोध उत्पन्न हुँदै आएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad