हाल (सोमबार बेलुका) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यस क्रममा राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुने सम्भावना छ। अनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत जारी गरेको छ।
जसमा भनिएको छ : सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। यसको प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ।
आज रातिको सम्भावित वर्षाबारे विस्तृत जानकारी तल:

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।
मौसमविद्का अनुसार हाल मनसुन कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै ठाउँसम्म फैलिएको छ। देशका बाँकी स्थानमा भने पश्चिमी वायु र स्थानीय वायुकै प्रभाव छ।
Shares

प्रतिक्रिया