प्रेस सेन्टर नेपालले प्रकाशित समाचार हटाउन आदेश दिनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको बताएको छ। बुधबार महासचिव मनोज घर्तीमगरले विज्ञप्ति जारी गरेर यसबाट लोकतन्त्र र संविधानमाथिको प्रहार भएको उल्लेख गरेका छन्।
‘नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन र थप समाचार नलेख्न जिल्ला अदालत काठमाडौँले दिएको आदेश र प्रहरीले सोही अदालतबाट वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न पुर्जी लिनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रेस स्वतन्त्रता, लोकतन्त्र र संविधानमाथिको प्रहार हो। प्रेस सेन्टर नेपाल यसप्रकारको कार्यको घोर निन्दा गर्दछ।’
समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने भन्दै प्रेस सेन्टरले अदालतमा मुद्दा दायर गरिनु संवैधानिक दायित्व बिर्सनु भएको टिप्पणी समेत गरेको छ।
‘सञ्चार माध्ययममा आएको समाचारका विषयमा चित्त नबुझेमा वा अन्याय भएको महशुस गरेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्पष्ट व्यवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नियामक निकाय प्रेस काउन्सिल छँदाछँदै अदालतमा मुद्दा दायर गरिनु र अदालतले संवैधानिक र कानुनी अधिकारलाई बिर्सेर समाचार हटाउन तथा आगामी दिनमा नलेख्न आदेश दिनु नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रताको गम्भीर हनन् हो।’
त्यस्तै पत्रकार दिलभूषण पाठकलाई पक्राउको तयारीबाट पछि हट्न समेत सेन्टरले सरकारसँग आग्रह गरेको छ। ‘संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, नेपाली सञ्चार क्षेत्रको नियामक निकायको क्षेत्राधिकारलगायतका बारेमा विवेक पुर्याउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ।

Shares

प्रतिक्रिया