समाज


न्यायाधीश नियुक्तिको प्रयासमा प्रधानन्यायाधीश

न्यायाधीश नियुक्तिको प्रयासमा प्रधानन्यायाधीश

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८२ मंगलबार १३:२१, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रयासमा जुटेका छन्।

लामो समयदेखि साँझ वा बिहान पारेर न्याय परिषद्को बैठक राखिरहेका उनी आज भने मुद्दा नै नहेरी गृहकार्यमा जुटेका हुन्। उनीसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि आज इजलासमा छैनन्। उनीहरू दुवै जनाले बिहान इजलासमा बस्नका लागि गोला पनि नतानी न्याय परिषद्को छलफलमा जुटेका हुन्।

न्याय परिषद् स्रोतका अनुसार, अहिले बैठक अनौपचारिक रूपमा बसिरहेको र कुरा मिलेपछि त्यसलाई औपचारिकता दिने तयारी छ।

सर्वोच्च अदालतमा हाल ४ न्यायाधीश पद रिक्त छन्। सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषद्ले सिफारिस गर्ने र संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि मुख्य न्यायाधीशहरू शान्तिसिंह थापा, श्रीकान्त पौडेललगायतको नाम छलफलमा छ। 

कानुन व्यवसायीहरूबाट २०९२ सालपछि प्रधानन्यायाधीश बन्ने गरी न्यायाधीश नियुक्त गर्ने प्रयासमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेस लागेका छन्। तर, निकै कनिष्ठ व्यक्तिलाई प्रधानन्यायाधीशले वरिष्ठ अधिवक्ताको उपाधि दिएर भावी प्रधानन्यायाधीशको रोलक्रममा राख्न खोजेको भन्दै न्यायपालिकाभित्रै असन्तुष्टि पनि बढेको छ।

कानुनमन्त्री अजयकुमार चौरसियाले पनि आफूनिकट व्यक्तिको नाम अघि सारेका छन्।

५२ संवैधानिक पदाधिकारी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले भोलि फैसला गर्ने भनी दिन नै तोकिसकेको छ। न्याय परिषद्का एक सदस्य रामप्रसाद भण्डारी पनि उक्त मुद्दामा विपक्षी छन्। 

सर्वोच्चको फैसला उनको प्रतिकूल नआए पनि भण्डारीको कार्यकाल असार दोस्रो साता सकिँदै छ। त्यसपछि न्यायाधीश नियुक्ति प्रक्रिया थप लम्बिन सक्ने भएकाले पनि प्रधानन्यायाधीश राउत अहिले तातेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad