समाज


पतञ्जलि प्रकरणमा रामदेव र बालकृष्णविरूद्ध किन चलेन मुद्दा? यस्तो छ अख्तियारको तर्क

पतञ्जलि प्रकरणमा रामदेव र बालकृष्णविरूद्ध किन चलेन मुद्दा? यस्तो छ अख्तियारको तर्क

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १४:५९, काठमाडौँ

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका संस्थापकहरू हुन्, संरक्षक स्वामी रामदेव, अध्यक्ष आचार्य बालकृष्ण, सदस्यहरु राजेन्द्र दास, राजेन्द्र सिंह र शालिग्राम सिंह।

तर, काभ्रेमा हदबन्दीभन्दा बढी जग्गा गैरकानुनी रूपमा छुट दिएको र जग्गा व्यवसायी तथा सरकारी अधिकारीहरूसँग मिलेमतो गरी उक्त जग्गा बढी मूल्यमा बेचेर ठूलो रकमको चलखेल गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरूद्ध मुद्दा चल्दा पतञ्जलि योगपीठका तर्फबाट एक जना सञ्चालक शालिग्राम सिंह मात्र परेका छन्।

संरक्षक स्वामी रामदेव, अध्यक्ष आचार्य बालकृष्ण, सदस्यहरु राजेन्द्र दास र राजेन्द्र सिंहमाथि भ्रष्टाचार मुद्दा चलाइएको छैन। किन त?

२०६४ असोज २० गते कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा उक्त कम्पनी दर्ता भएको छ। र, उसको दर्ता नं. ८४।०६४।६५ रहेको देखिन्छ।

यो संस्था मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा दर्ता भएको छ।

कम्पनी ऐन, २०६३ को दफा १६६ को उपदफा (३) मा यस्तो कम्पनी संस्थापना गर्ने संस्थापकहरूको संख्या कम्तीमा पाँच हुनुपर्ने उल्लेख छ। त्यसैअनुसार संस्थापक सदस्यहरू स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास, राजेन्द्र सिंह भारतीय नागरिक र शालिग्राम सिंह नेपाली नागरिक भएर यो कम्पनी स्थापना गरेको देखिन्छ।

२०६४ असोज २३ गते सबै संस्थापकहरू उपस्थित भएर बसेको सञ्चालक समितिको बैठकले आन्तरिक राजस्व कार्यालय, काठमाडौँबाट कम्पनीको स्थायी लेखा नम्बर (प्यान), मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गरी प्रमाणपत्र लिनुपर्ने सम्पूर्ण काम कारबाही गर्न कम्पनीका सञ्चालक शालिग्राम सिंहलाई अख्तियारवाला नियुक्त गरिएको छ।

उनले आफू वा अन्‍यलाई अख्तियार दिई कानुन बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्नका लागि अख्तियारवाला नियुक्त गर्ने गरी निर्णय भएको देखिन्छ।

त्यसै वर्षको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीको नाममा आश्रमस्थल निर्माण तथा अन्य कार्यको लागि चल-अचल सम्पत्ति खरिद गर्ने, चल-अचल सम्पत्ति खरिद बिक्रि गर्न रजिस्ट्रेशन नामसारी लगायतको सम्पूर्ण काम कारबाही गर्न शालिग्राम सिंहलाई नै अख्तियार दिने निर्णय भएको छ। यो काम गर्दा उनले आफू वा अन्‍यलाई अख्तियारी दिन सक्ने निर्णय पनि भएको छ।

यस्तै, धितो राख्ने, बैंकबाट कर्जा लिने र बैंकसम्बन्धी सम्पूर्ण काम कारबाही गर्न पनि अख्तियारी सञ्चालक समितिले शालिग्राम सिंहलाई नै दिएको देखिन्छ।

शालिग्राम सिंहले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा कम्पनी दर्ता गर्दादेखि हदभन्दा बढी जग्गा खरिद बिक्री गर्न गराउन मुख्य भूमिका खेलेको भेटिएको छ। यसका लागि सम्बन्धित निकाय/कार्यालयमा निवेदन दिनेदेखि उक्त कार्य सम्पन्न नहुँदासम्मको सम्पूर्ण कार्य आफू स्वयं तथा आफूले खटाई पठाएका व्यक्तिहरूमार्फत गरेको भनेका छन्।

कम्पनीको वासलात तयार गर्ने गराउने कार्य आफै गरेको पनि उनले बयानमा भनेका छन्। कम्पनीको नाममा आएको रकमको व्यवस्था गर्ने, निजी प्रयोग प्रचलनमा ल्याउने र नेपालमा रही पतञ्जलि योगपीठको सम्पूर्ण कार्य आफैले गरेको र मौखिक तथा अनौपचारिक जानकारीसम्म संस्थापक सदस्यहरूलाई गराएको भनेर उनले खुलाएका छन्।

यसैकारण यस प्रकरणमा पतञ्जलिका तर्फबाट सम्पूर्ण रूपमा शालिग्राम नै जिम्मेवार हुने अख्तियारको निष्कर्ष छ।

अख्तियारको निर्णयमा लेखिएको छ, ‘यस विषयमा हेर्दा हालसम्म संकलित प्रमाण कागजातबाट शंकितरू स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास र राजेन्द्र सिहंसमेत स्वयं उपस्थित रही उल्लिखित कार्य गरेको पुष्टि हुने प्रमाणको अभाव रहेको देखिएको, उक्त कार्य गरे गराएबाट निजहरूले लाभ लिएको तथ्य स्थापित हुने प्रमाणको अभाव रहेको र उक्त कम्पनी तथा कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंहले निज संस्थापक सदस्यहरूको नाम तथा प्रतिष्ठाको प्रयोग गरे गराएको देखिएकोबाट निज स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास र राजेन्द्र सिहंसमेत माथि विवेचना गरे बमोजिमको प्रस्तुत भ्रष्टाचारजन्य कसुर अपराधमा संलग्न रहेको पुष्टि हुने प्रमाणको अभाव रहेको देखिएको हुँदा पछि थप प्रमाण प्राप्त भएमा सोही बखत भ्रष्टाचार  निवारण ऐन, २०५९ को दफा ५९ (ग) र मुलुकी फौजदारी कार्यविधी संहिता, २०७४ को दफा ३५ लगायतको प्रचलित कानुनबमोजिम हुने नै हुँदा हाल निजहरूको हकमा केही गरिराख्न परेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad