समाज


अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी, मुद्दा नचलाउने मन्त्रिपरिषद्को निर्णय बदर

अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी, मुद्दा नचलाउने मन्त्रिपरिषद्को निर्णय बदर

नेपालखबर
जेठ २१, २०८२ बुधबार १७:५, काठमाडौँ

सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको बहुप्रतीक्षित रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ। 

यो आदेशसँगै २०६९ साउन १२ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले मुद्दा नचलाउने गरी गरेको निर्णय पनि बदर भएको छ। र, काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।

भट्टराई सरकारले सापकोटाविरूद्ध काभ्रे प्रहरीमा परेको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी तामेलीमा रख्ने निर्णय गरेको थियो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको इजलासले १४ वर्षपछि यो विवाद किनारा लगाएको हो।

द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर अर्जुन लामालाई बेपत्ता पारेको आरोप छ। लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।

अर्जुन लामाकी श्रीमती पूर्णिमायाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तान संलग्न रहेको दाबी गरी अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

उनको मागबमोजिम नै सर्वोच्चले यो आदेश जारी गरेकाले अब सापकोटामाथि फौजदारी न्यायिक प्रक्रियाअनुसारै प्रहरीले अनुसन्धान अघि बढाउनुपर्ने भएको अधिवक्ता पुष्पराज पौडेलले नेपालखबरसँग बताए। 

बुधबार संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट दिनेशमणि त्रिपाठी, राजुप्रसाद चापागाईँलगायत कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरूले कर्तव्य ज्यानजस्तो गम्भीर फौजदारी कसुरमा किटानी जाहेरी परेको कारण सापकोटालाई तत्काल पक्राउ गरी अदालतमा मुद्दा चलाउनुपर्ने माग गरे। पद र शक्तिको आडमा पीडितलाई न्याय दिनबाट वञ्चित गरिएको र प्रहरीले अनुसन्धान नै अघि नबढाएर न्यायमा जालझेल गरेको उनीहरूको भनाइ थियो। 

संक्रमणकालीन न्यायका नाममा झन् विलम्ब गरिएको कारण फौजदारी न्यायप्रणालीको नियमित प्रक्रियाबाटै यस घटनाको निरुपण हुनुपर्ने माग पनि उनीहरूले गरे। यसअघि सर्वोच्च अदालतले नै पटकपटक यस्तो आदेश गरिसकेका कारण पनि प्रहरीले जाहेरीमा कुनै काम नगरी बस्न नमिल्ने तर्क पनि ती कानुन व्यवसायीहरूको थियो।

त्यसपछि सापकोटाका कानुन व्यवसायीहरू रमनकुमार श्रेष्ठ, मुक्ति प्रधान, दीनमणि पोखरेललगायतले प्रतिवाद गरे। उनीहरूले यो मुद्दा द्वन्द्वकालीन समयको र राजनीतिक प्रकृतिको भएका कारण सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) बाट निरुपण हुनुपर्ने तर्क गरे।

सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता लोकराज पराजुलीले सापकोटाविरुद्धको जाहेरी अहिले पनि जीवित रहेको बताउँदै टीआरसीबाटै टुंगो लगाउन सकिने धारणा राखे। ‘जाहेरी अहिले पनि जीवित छ। संक्रमणकालीन न्याय निरुपणका लागि आयोगहरू बनिसकेका छन्। अब यो विषय टीआरसीको मामिला हो र त्यता (आयोग) पठाउनुपर्छ।’

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको दफा १४ अनुसार द्वन्द्वकालीन घटनाको निरुपण गर्ने अधिकार टीआरसीमै रहेको जिकिर गरे। 

निवेदक र विपक्षीको बहस सकिएपछि आजै निवेदकतर्फका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए। 

जवाफी बहसका क्रममा अधिवक्ता पुष्पराज पौडेलले टीआरसीमा यो विषय पठाउने कि नपठाउने भन्नुभन्दा पहिला प्रहरीले आफूकहाँ प्राप्त भएको जाहेरीमा कानुनबमोजिम अनुसन्धान अगाडि बढाउनुपर्ने र त्यो कर्तव्यबाट विमुख हुन नपाउने तर्क गरे।

‘अहिलेको विषय टीआरसीमा पठाउने कि नपठाउने भन्ने होइन। सबैभन्दा पहिला प्रहरीले यसको अनुसन्धान गर्नुपर्छ। हाम्रो मौजुदा कानुन र सम्मानीत सर्वोच्च अदालतका आदेशहरूले स्पष्टसँग निर्देशित गरिसकेका छन्। यसै मुद्दामा पनि सर्वोच्चले बोलिसकेको छ,’ उनको भनाइ थियो, ‘यो विषय टीआरसीमा पठाउने हो भन्ने लागेमा भोलि पठाउन सकिन्छ तर त्यसभन्दा अगाडि प्रहरीले फौजदारी कानुनबमोजिम अनुसन्धान गर्नुपर्छ। यस्तो जाहेरी तामेलीमा राख्न मिल्दैन। बृहत् शान्ति सम्झौताले पनि तामेलीमा राक्न सक्ने भनेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad