समाज


निजामती विधेयकमा असन्तुष्ट कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

निजामती विधेयकमा असन्तुष्ट कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०८२ सोमबार १२:४५, काठमाडौँ

निजामती कर्मचारीका विभिन्न संघ संगठनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। 

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइसकेको संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै उनीहरूले मन्त्रालयको मूल ढोकामा सोमवार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म धर्ना दिएका हुन्। 

ट्रेड युनियन सञ्जालको नेतृत्वमा ११ बुँदे मागसहित उनीहरूले विधेयकमा आपत्ति जनाएका छन्। ट्रेड युनियन सञ्जालले राखेका माग सम्बोधनमा राज्य उदासीन देखिएको बताउँदै आन्दोलनमा उत्रिएको नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटवालले बताए। 

उनले कर्मचारीको वृद्धि विकासका मागलाई सम्बोधन गर्नुपर्ने र त्यसले राज्यलाई आर्थिक भार नपर्ने दाबी गरे। उनले संघ, प्रदेश र स्थानीय तहको परिभाषामा पनि सरकार उदासीन देखिएको बताउँदै प्राविधिक पदमा नासु स्तरको लोकसेवा खोलिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने लगायतका माग राखेको बताए।

‘राज्य व्यवस्था तथा सुशासन समितिले स्वाभाविक रूपमा ट्रेड युनियन सञ्जालले राखेका र सम्बोधन नभएका मुद्दाहरु विशेषतः वृद्धि विकासका कुराहरू छन्, त्यसमा राज्य उदासीन देखिएको छ,’ कटवालले भने, ‘राज्यलाई आर्थिक भार नपर्ने गरी वृद्धि विकासका मागलाई सम्बोधन गर्नुपर्छ। त्यसले आर्थिक भार पर्दैन भन्ने डाटा पनि सरकारलाई पेश गरेका छौँ । संघ, प्रदेश र स्थानीय तहको परिभाषामा पनि सरकार उदासीन देखिएको छ। अतिरिक्त सचिवको क्यापमा पनि सरकार उदासीन देखिएको छ। प्राविधिक पदमा नासु स्तरको लोकसेवा खोलिनुपर्छ, यस विषयलाई पनि समेटिनुपर्छ भनेका छौँ। तर, समेटिएको अवस्था छैन। श्रेणीविहीन कर्मचारीलाई २० वर्ष राखिएको छ, त्यसलाई तीन वर्ष राखिनुपर्छ। सानो स्तरको कर्मचारीलाई राज्यले यति धेरै अपमान गर्नु हुँदैन।’

उनले आफूहरुका ११ बुँदे मागलाई राज्यले सम्बोधन नगरे भोलिदेखि कडा आन्दोलनमा उत्रिने चेतावनी दिए। उक्त विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूची छ। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad