नेपाल पत्रकार महासंघ ललितपुर शाखाले जिल्लामा क्रियाशिल पत्रकारको लागि शुक्रबार एकदिने बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ।
जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजनमा स्वास्थ्य शिविर आयोजना गरिएको महासंघ ललितपुरका अध्यक्ष रामहरी कार्कीले जानकारी दिए।
स्वास्थ्य शिविरमा विभिन्न नसर्ने रोगहरूको परीक्षण गरिएको थियो।
भिडियो एक्सरे, मुटु तथा मृर्गौला परिक्षण, आँखा, दन्त, मधुमेह, आरएफटी, एलएफटी, सिबिसी, स्त्रीरोग लगायतको रोगको निःशुल्क परीक्षण गरिएको हो। शिविरमा ६० वर्ष नाघेका पत्रकारलाई निःशुल्क चश्मा वितरण गरिएको थियो।
शिविरमा ७७ जना पत्रकारको स्वास्थ्य परीक्षण सेवा लिएका अध्यक्ष कार्कीले बताए।
स्वास्थ्य परीक्षण गरिएका अधिकांशमा सुगर र प्रेसरको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। ७७ मध्ये २७ जनामा सुगरको लक्षण र १० जनामा प्रेसरको लक्षण देखिएको बज्रबराही चापागाउँ अस्पतालका डा.अमरदीप साहले जानकारी दिए।
बज्रबाराही चापागाउँ अस्पतालका मेडिकल सुपरटेन्ड डा.अंकुर पौडेलले पत्रकारहरू आफ्नो स्वास्थ्यमा सचेत हुन आवश्यक रहेको उल्लेख गरे।
जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा.भुवन पौडेलले पत्रकार महासंघसँग समन्वय गरेर पत्रकारका लागि स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुसी लागेको बताए। उनले शरीर स्वस्थ्य रहेमात्र पेशामा खरो रुपमा उत्रिन सकिने भन्दै पत्रकारलाई स्वास्थ्य रहन आग्रह गरे।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेकोमा ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय, ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालप्रति धन्यवाद व्यक्त गरे।
परीक्षणमा संलग्न चिकित्सकले स्वस्थ जीवनशैली अपनाउन, खानपानमा ध्यान दिन, शारीरिक व्यायम गर्न सल्लाह दिएका छन्।
नियमित कम्प्युटरमा काम गर्दा पत्रकारको दृष्टिमा समस्या देखिएको भन्दै उनीहरुले चस्मा लगाउन पनि सुझाव दिएका छन्।
त्यसैगरि पिसाबमा समस्या देखिएकाहरुलाई प्रसस्त पानी पिउन, सुगर र प्रेसर देखिएकाहरुलाई खानपानमा ध्यान दिँदै व्यायम गर्न चिकित्सकको सुझाव छ।
Shares

प्रतिक्रिया