समाज


काठमाडौंमा लकडाउन उल्लंघन गर्ने एक हजार ८०० लाई कारबाही

काठमाडौंमा लकडाउन उल्लंघन गर्ने एक हजार ८०० लाई कारबाही

नेपालखबर
चैत २३, २०७६ आइतबार १५:१०,

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आज कारवाही गरिएको छ।

आज दिनभर २४० दुईपांग्रे र नौ चारपांग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

काठमाडौंबाट एक हजार ३८६, ललितपुरबाट २२४ र भक्तपुरबाट १७८ जनालाई नियन्त्रणमा लिएको हो। कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर लकडाउनको आदेश जारी गरेको थियो।

उक्त आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

कोषमा राहत जम्मा गर्न कीर्तिपुरको आह्वान
काठमाडौँको कीर्तिपुर नगरपालिकाले कोभिड–१९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका व्यक्तिलाई राहत दिन आज रु ५० लाखको राहत कोष स्थापना गरेको छ।

यहाँका दैनिक ज्यालामा काम गर्ने श्रमिक तथा स्थानीयवासीलाई दैनिक जीवनयापनमा सहज पार्न नेपाल सरकारको योजनाअनुसार नगरपालिकाले कोष स्थापना गरेको हो।

नेपाल सरकारले कोही पनि भोको नहोस् भन्ने अपेक्षासहित राहतको कार्यक्रम घोषणा गरिसकेको सन्दर्भमा उक्त कोषमार्फत आवश्यक पर्ने परिवारलाई खाद्यान्न र राहतको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।

कोषमा जम्मा हुने रकमको खर्च गर्ने कार्यविधि तयार भइरहेको नगरपालिका प्रमुख रमेश महर्जनले जानकारी दिए।

उक्त कोषमा सहयोग गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संघ संस्था, गैरआवासीय नेपाली, स्वदेशी विदेशी दाता, निकाय, उद्योग व्यवसायी, पेशाकर्मी, नागरिक समाजलगायत सबैमा नगरपालिकाले अपिल गरेको छ।

विश्वव्यापी विपत्तिको यस घडीमा आर्थिक र नगद सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले नगरपालिकाका नाममा राष्ट्रिय वाणिज्य बैंक, कीर्तिपुर शाखाको खाता नं १७००३०४०३८३०३ मा नगद जम्मा गर्न र खाद्यलगायत सामग्री सहयोग गर्न चाहनेले नगरपालिकाको विपद् व्यवस्थापन शाखामा सम्पर्क गर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .