विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी कुञ्जाङ छोपेल शेर्पा काठमाडौँ आइपुगेकी छन्।
उनलाई स्वागत गर्न प्रहरीका केन्द्रीय प्रवक्ता रमेश थापा, एसपी वसुधा खड्का लगायत प्रहरी अधिकारीहरु विमानस्थल पुगेका थिए। नेपाल प्रहरीका प्रथम सगरमाथा आरोही प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली पनि शर्पालाई स्वागत गर्न विमानस्थल पुगे।
प्रहरी कर्मचारीले उनलाई बाजागाजा र र्यालीसहित निवाससम्म पुर्याएका थिए।
सोमबार सगरमाथा आरोहण गरेकी कुन्जाङलाई बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले प्रहरी नायव निरीक्षक (सई) मा बढुवा गर्ने निर्णय समेत गरेको छ।
शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उनको विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
शेर्पाले सोमबार बिहान ८ः५६ बजे सफलतापूर्वक सगरमाथा आरोहण गरेकी थिइन्। आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डासहित नेपाल प्रहरी तथा लैङ्गिक हिंसा विरुद्धको नारा सहितको ब्यानर फहराउन सफल भएकी छिन्।
महिला तथा बालबालिका सम्बन्धि हुने हिंसाविरुद्ध सन्देश दिन उनले सगरमाथा आरोहण गरेकी हुन्।
प्रहरी महानिरीक्षक थापाले २०८१ चैत २५ गते निर्देशन तथा शुभकामनासहित झन्डा हस्तान्तरण गरेका थिए। प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पासहितको आरोहण दल २०८१ चैत २८ गते काठमाडौँबाट प्रस्थान गरेको थियो।
यसअघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए।
२०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका थिए।









Shares

प्रतिक्रिया