समाज


अबको एक हप्तामा थाहा हुनेछ वास्तविक संक्रमणको स्थिति

अबको एक हप्तामा थाहा हुनेछ वास्तविक संक्रमणको स्थिति

शरद शर्मा
चैत २२, २०७६ शनिबार १४:५८,

नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड– १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन्।

बन्दाबन्दी ‘लकडाउन’ को आज १२औँ दिनमा धनगढीमा रहेका एक जना संक्रमितबाट उनका आफन्तमा कोभिड– १९ देखिएपछि रोकथाम र नियन्त्रणमा चुनौती थपिएको हो।

आज एकै दिन तीन जनामा सुदूरपश्चिम प्रदेशमा संक्रमण देखिएको छ। मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा देखिएको हो।

महिला भने यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले (कम्युनिटी ट्रान्समिसन)लाई संक्रमणको दोस्रो चरण बताएको छ। पहिलो चरण सङ्क्रमितलाई मात्र हुनु र त्यसबाट अन्यलाई सर्न नदिनुलाई मानिन्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कम्युनिटी ट्रान्समिसन भएपछि चुनौती थपिएकाले विदेशबाट आएका सबैको कोभिड– १९ परीक्षण गर्नुपर्ने बताउँछन्।

‘पहिले हामी पहिलो चरणमा रहेका थियौं। नेपालमा नै रहेका व्यक्तिमा कोभिड– १९ देखिएपछि हामी दोस्रो चरणमा प्रवेश गरेका छौं’, उनले भने, ‘विदेशबाट आएका मानिसमा मात्र होइन। अब तिनीहरु बसेको समुदायको स्क्रीनिङ गर्नुपर्नेछ।’

उनले नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्ड, उत्तरप्रदेश विहारमा संक्रमण देखिएकाले पनि हामीले थप सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनी विदेश र भारतबाट प्रवेश गरेका सबैको को कहाँ छन् भनेर राम्रोसँगै निगरानी राखेर क्वारेन्टाइनमा राख्नुपर्ने बताँछन्।

सातवटै प्रदेशबाट कोभिड–१९ को नमूना परीक्षण थालिएको र दिनदिनै कोभिड–१९ संक्रमण देखिएपछि नेपालमा अबको एक हप्तामा वास्तविक संक्रमणको स्थिति कस्तो हुने थाहा हुनेछ।

अस्पतालका निर्देशक डा राजभण्डारीले बन्दाबन्दी ‘लकडाउन’को अवधि थप गरेर सङ्क्रमित रहेको समुदायको सबैको नमूना परीक्षण गर्नुपर्ने बताए। विश्वभरि फैलिएको महामारीका कारणले सरकार गत चैत ११ गते लकडाउन गरेको हो भने चैत ९ गतेदेखि विदेशबाट आउने अन्तरराष्ट्रिय विमानस्थल पनि बन्द भएकाले त्यसपछि नेपालमा हवाइमार्गबाट मानिस आएका छैनन्। सो अवधिमा आएका मानिसको अहिले सङ्क्रमण देखिरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले व्यक्तिमा सङ्क्रमण देखिएकाले सचेत हुनुपर्ने बताउँछन्। उनले समुदायमा संक्रमण सरेपछि यो साता निकै चुनौतीपूर्ण रहने बताए।

नेपालमा यही चैत २५ गते लकडाउनका अवधि १५ दिन पुग्दैछ। सो अवधिमा विदेशबाट आएका मानिसमा सङ्क्रमणको लक्षण देखिए पनि ती व्यक्तिले अन्यलाई सारेकाले लकडाउन बढाउनुको विकल्प नरहेको विज्ञ सल्लाहकार डा कार्कीको भनाइ रहेको छ।

‘यो हप्ता हामी बाहिरबाट आएका लक्षण देखिएका मानिसमा कति कति देखियो भन्ने कुरा थाहा हुनेछ’, उनले भने, ‘अहिले एकै दिनमा तीन जनामा समेत देखियो। यसले हामीलाई यो हप्ता निकै कठिन हुन्छ।’

यो लकडाउनको अवधिमा नेपालमा रहेका संक्रमितको तथ्यांक आउने भएकाले जोखिम मानिएको हो। कोरोना भाइरसका संक्रण देखिने अनुसन्धानबाट दुई हप्ता हो। यो दुई हप्ताभित्रमा लक्षण देखिने हो भने देखिन सक्दछ। होइन भने देखिँदैन। चौध दिनपछि कम मात्रामा लक्षण देखिने गर्दछन्। हाल नेपालमा विदेशबाट आएका आठ र एक जना नेपालमै रहेका व्यक्तिमा कोभिड–१९ को संक्रमण देखिएको छ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले समुदायमा नै संक्रमण देखिएकाले नमूना परीक्षणको दायरा बढाउनुपर्ने बताउँछन्। उनले नमूना परीक्षण दैनिक एक हजार पु-याएर अवको हप्तामा विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्ने बताए।

‘व्यक्तिबाट व्यक्तिमा संक्रमण सरेको छ। अब समुदायमा त्यो स-यो कि सरेन भनेर हेर्नुपर्दछ’ उनले भने, ‘विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्दछ। त्यसैले यो एक हप्ता हाम्रा लागि निकै चुनौतीपूर्ण रहन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad