बारास्थित सिमरा विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौँ आउँदै गरेकी बिरामी महिला बाटैमा बितेकी छन्।
काठमाडौँस्थित प्रहरी वृत्त, गौशालाले बुधबार दिएको जानकारीअनुसार रौतहट फतुवाविजयपुर नगरपालिका वडा नं. ११ घर भएकी ३९ वर्षीया राजकुमारी चौधरी बिरामी परेपछि उपचारका लागि मंगलबार अपराह्न ४ बजे सिमरा विमानस्थलबाट बुद्ध एयरको जहाज चढेर काठमाडौँ आउँदै थिइन्। तर उनी काठमाडौँ आइनपुग्दै जहाजभित्रै अचेत भइन्।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि उनलाई साथमै रहेका श्रीमान् जंगबहादुर चौधरीले तत्काल उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगेका थिए। तर त्यहाँका चिकित्सकले उनको पहिले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
यसपछि मंगलबार राति नै महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको प्रहरी वृत्त गौशालाले जनाएको छ।
Shares

प्रतिक्रिया