समाज


हुम्लाको तील गाउँमाथिका दुई हिमताल फुटेकै हुन्?

हुम्लाको तील गाउँमाथिका दुई हिमताल फुटेकै हुन्?

नेपालखबर
जेठ ४, २०८२ आइतबार १९:५९, काठमाडौँ

हुम्लाको नाम्खा गाउँपालिका-६, लिमी उपत्यकाको तील गाउँमाथिका दुई हिमताल फुटेर बाढी आएको छ।

घटना जेठ १ गतेको हो।

लिमी उपत्यका पर्ने उक्त स्थानमा हिमताल फुटेकै कारणले लेदोसहितको बाढी आएको थियो। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार ५० घरधुरी रहेको तील गाउँमा १८ घरमा  मान्छे बस्दै आएका छन्। यी १८ घर अहिले पहिरोको उच्च जोखिममा छन्। 

'महिला २१, पुरुष ९ र बालक २ गरी ३२ जना उच्च जोखिममा रहेकोले गाउँभन्दा पारी खुला चौरमा त्रिपाल लगाई बसोबास गरिरहेका छन्,' सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भने।  

स्थानीयका अनुसार हिमताल फुटेर आएको लेदोले सेखाङ्लुङ्बा र तिल्जुङ् खोलामा बाढी आएको हो।  

नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्लोर तामाङले हिमताल फुट्दा बाढी आएको बताए। उनले नेपालखबरसँग भने, 'लेदोसहितको बाढी आएपछि ५ जनाको टोली माथि गएको थियो। त्यहाँ दुई ताल रहेछ। दुवै ताल फुटेको रहेछ। योभन्दा पहिले ताल भएकै थाहा थिएन।' 

उनले थाक्रा डाँडामा रहेका दुईवटा ताल धस्सिएको पाइएको बताए।

'न पानी परेको छ। न हिउँ परेको छ। एक्कासि कसरी बाढी आयो भन्ने भएपछि टोली माथि गएका थियौँ,' उनले भने, '५ हजार ३ सय मिटर उचाइमा पुगेपछि हिमताल फुटेको देखियो।'

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि तील गाउँमा जोखिममा पार्ने गरी लेदोसहितको बाढी आएको बताए। 

'बाढी आएको खबरपछि हिल्साबाट १० घण्टा हिँडेर सशस्त्रको टोली गएको थियो,' उनले नेपालखबरसँग भने, 'उद्धार गरिसकेपछि कसरी यो आयो भनेर सुरक्षाको टोली माथि हेर्न गएको थियो तर ४७ सय मिटरमाथि पुगेपछि लेक लाग्ने समस्या भएपछि बीचबाटै फर्कियो। त्यसपछि वडा अध्यक्षसहितको टोली गएको हो।'

लेदोसहितको पहिरोले हाल्जी र हिल्सातर्फको बाटो, काठेपुल, जलविद्युतको पावरहाउसमा क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad