समाज


घर विवादमा जनमतका पूर्वकोषाध्यक्ष यादव ५ लाख धरौटीमा रिहा

घर विवादमा जनमतका पूर्वकोषाध्यक्ष यादव ५ लाख धरौटीमा रिहा

नेपालखबर
जेठ ४, २०८२ आइतबार १७:४९, काठमाडौँ

जनमत पार्टीका पूर्व कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका ४ को कित्ता नम्बर ९४३ मा खरिद गरेको घर पार्टीलाई फिर्ता नदिएको भन्दै जनमतले उनीविरुद्ध जाहेरी दिएको थियो।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवको जाहेरीपछि ललितपुर प्रहरीले उनलाई सप्तरीबाट पक्राउ गरी ल्याएर अनुसन्धान गरेको थियो।

सुरेन्द्रले पार्टीले अध्यक्ष सिके राउतको लागि खरिद गरेको घर पत्नी ललिताकुमारी यादवको नाममा पास गरेको र पछि नामसारी गरिदिन नमानेको अभियोग छ।

उक्त घर पार्टीको नाममा नामसारी गरिदिन अदालत समक्ष आदेश माग गरिएको छ।

सुरेन्द्रनारायण यादव जनमत पार्टीको कोषाध्यक्ष पदमा रहँदा अध्यक्ष डा चन्द्रकान्त राउत (सीके) का लागि पार्टीले काठमाडौँमा घर खरिद गर्ने निर्णय गरेर यसको जिम्मा कोषाध्यक्षलाई दिएको जनमतको दाबी छ।

घर खरिदका लागि केही रकम सहयोग लिएको र बाँकी गरिमा विकास बैंकबाट ऋण लिएको जनमतको भनाई छ। सुरेन्द्रनारायण यादवले २०८० जेठमा श्रीमती ललिताकुमारी यादवको नाममा ललितपुरको इमाडोलमा १४३.१२ वर्ग मिटर जग्गामा रहेको घर खरिद गरेका थिए।

पार्टीको लागि भनी खरिद गरेको घरको ऋणको किस्ता पनि २२ महिनादेखि पार्टीले नै तिर्दै आएको प्रमाण पेश गरेको छ।

पार्टीको प्रयोजनका लागि खरिद गरेको घरजग्गा नामसरी गर्न सुरुमा ४० लाख रूपैयाँ माग गरेका सुरेन्द्रले त्यो रकम भुक्तानी पाएपछि पनि घर नदिएको आरोप छ।

साढे तीन तले, ८ कोठा भएको पक्की घर एक करोड ५० लाखमा खरिद गरेका थिए।

सोही घरजग्गा बैंकमा धितो राखी ऋण लिएको र महिलाको नाममा पास गर्दा कर कम लाग्ने भएकाले श्रीमती ललिताको नाममा २०८० जेठ २५ गते पास गरेको उनले बताएका छन्।

सुरेन्द्र यादवले आफूमाथि लगाएको आरोप झुटो भएको दाबी गरेका छन्। उनले जनमतका अध्यक्ष राउतले बस्ने ठाउँ नभएको भन्दै काठमाडौँ बस्नका लागि आफूलाई घर खरिद गर्न भनेको र त्यो घरमा बस्न दिन भनेको प्रहरीलाई बयान दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad