समाज


तारकेश्वरमा कीर्ते कागजात बनाउने कारखाना, तीनजना पक्राउ

तारकेश्वरमा कीर्ते कागजात बनाउने कारखाना, तीनजना पक्राउ

नेपालखबर
जेठ १, २०८२ बिहिबार १४:१७, काठमाडौँ

काठमाडौँको तारकेश्वर नगरपालिका रहेको कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। तारकेश्वर नगरपालिका-७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीइ तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गरी नक्कली बनाउने गरेको अखडामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार छापा मारेको हो। 

प्रहरीले कीर्ते कागजात बनाउनेलाई पक्राउसमेत गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका-१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका-७ का निर्मल खड्का, मकवानपुर कैलान गाउँपालिका-२ की अञ्जु खत्री छन्। 

पक्राउ परेकी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात कीर्ते गरी नक्कल बनाइ प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुलेको प्रहरीले जनाएको छ।  

उनले फुटुङमै कोठा भाडामा लिएर नक्कली कागजात इडिट तथा डिजाइन गर्नका लागि दुई जनालाई मासिक क्रमश १० हजार र १५ हजार रुपैयाँ दिएर काम लगाउने गरेको पनि खुलेको प्रहरीको भनाइ छ। 

उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत बनाउने गरेको पाइएको छ। 

त्यस्तै बैंकबाट ऋण लिने प्रयोजनका लागि जग्गाधनी पूर्जा बनाइदिने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। त्यस्तै जापानमा विद्यार्थी भिसामा जानेहरूका लागि सहकारी संस्थाका स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाउने गरेको पनि खुलेको छ।  

त्यस्तै विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका छाप आवश्यकताअनुसार उपलब्ध गराउने गरेको पनि खुलेको छ। जापानलगायत देशहरूमा श्रमिक भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र‍ तथा अनुभवको पत्रसमेत बनाउने गरेको पनि पाइएको छ।  

विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशको पीआर तथा ग्रीन कार्डका लागि आवेदन गर्न नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलंगा र वीर अस्पताललगायतको मेडिकल कार्ड बनाउने गरेको पनि खुलेको छ। त्यस्तै भिसा प्रयोजनका लागि क वर्गका बैंकको नक्कली स्टेटमेन्टसमेत बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad