सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काभ्रे, गुल्मी, स्याङ्जा, लगायतका केही क्षेत्रमा सोमबार भारी वर्षा भएको हो।
गुल्मीमा सोमबार ५६.४ मिलीमिटर वर्षा भएको छ भने स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए।
काभ्रेमा हिजो ६ घण्टामै ३९.६ मिलीमिटर वर्षा भएको छ। एक्कासी भएको ठूलो वर्षाले काभ्रेमा धनजनकोसमेत क्षति गरेको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिए।
बाढीले बगाउँदा पनौती नगरपालिका ५ की २८ वर्षीया रेनुका गिरी वेपत्ता भएकी छिन्। बाढीले पनौती नगरपालिका ३, ५, ६, ४, ७, ८, ९, १० मा ठूलो क्षति भएको छ।
गएको असोज १२ गते आएको बाढीले क्षतविक्षत पारेका र अस्थायी रुपमा निर्माण गरिएका खानेपानीका पाइप र सडकहरु सोमबार रोशी खोलामा आएको बाढी बगाएको छ।
बाढी आउनेगरि एक्कासी ठूलो वर्षा भए पनि सोमबार साँझदेखि भने पनौति क्षेत्रमा वर्षा रोकिएको छ।
त्यसैगरि हिजो बागमती, लुम्बिनी र कर्णाली प्रेदेशका केही पहाडी भूभागमा वर्षा भएको मौसमविद्ले बताएका छन्।
Shares

प्रतिक्रिया