वारी कैलाली पारी बर्दिया। बर्दियातर्फको भाग जङ्गलै जङ्गलले ढाकेको छ। कैलालीतर्फ सुन्दर बजार छ चिसापानी। जब बर्दियाबाट कैलाली प्रवेश गर्नै लाग्दा एउटा गेटले एकातर्फबाट बिदाई गर्छ अर्को तर्फबाट स्वागत गर्छ।
‘लुम्बिनी प्रदेश भ्रमण गर्नुभएकोमा तपाईँलाई धन्यवाद छ’ अनि अर्कोतर्फ उल्लेख छ, ‘तपाईंलाई लुम्बिनी प्रदेशमा स्वागत छ।’
यही स्थान नै कर्णाली हो, अर्थात् चिसापानी। यही कर्णालीलाई वारपार गर्न एउटै जगमा दुईवटा खम्बामा बनाइएको कर्णाली नदीको पुल नै हेर्दै सुन्दर लाग्छ। सौन्दर्यताले भरिपूर्ण यस चिसापानीको आकर्षण भनेको यही कर्णाली पुल हो।
देशका धेरै भागबाट आउने सर्वसाधारणहरू यही पुल भएर आवत जावत गर्छन्। आफ्ना निजी सवारी साधनमा आवतजावत गर्ने हुन् या रिजर्भ गरेर विभिन्न गन्तव्यमा भ्रमणका लागि हिँडेका सर्वसाधारण नै किन नहुन् यही चिसापानी पुल हेर्न र फोटो खिचाउन लालायित हुन्छन्।
सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि बेलाबेला कसकास बाहेक मर्मत सम्भार हुन नसकेको स्थानीय बताउँछन्।
२०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटक पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेको चिसापानीका रमेश बुढाले बताए।
यो पुल जापानको कावासाकी हेभी इन्डस्ट्रिजले निर्माण गरेको हो। एउटै जगको दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०/३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताउने गरेका छन्।
खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ।
साँझ परेपछि अझ सुन्दर देखिन्छ चिसापानीको यो कर्णाली पुल। साँझ परेपछि टहलिन आउने, घुमफिर गर्न आउने, टिकटक बनाउनेहरूले अनि फोटोमा रमाउनेहरुले भरिएको हुन्छ।
तर पछिल्लो समय ७ बजे भन्दापछि यहाँ सर्वसाधारणलाई हिँडडुल गर्न नपाउने नियम बनाइएको छ।








Shares

प्रतिक्रिया