प्रहरी महानिरीक्षक दिपक थापाले आ–आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न,
अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।
हालै सरूवा प्रदेश प्रहरी प्रमुखका रुपमा खटिन लागेका ६ डीआईजी र सीआईबीमा सरुवा भएका एक डीआईजीलाई मंगलबार प्रहरी प्रधान कार्यलयमा आईजीपी थापाले निर्देशन दिएका हुन्।
निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई सम्पादन गर्न निर्देशन दिए।
व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न थापाको निर्देशन छ।
साथै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने पनि आईजीपी थापाले बतानए।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखि जनपक्षीय काम गर्न र आ–आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्न पनि थापाले भनेका छन्।
गृहमन्त्रालयले केही दिन अघि मात्रै लामो समयदेखि रिक्त ६ वटै प्रदेशमा डीआईजी खटाएको हो। जसमा कोसी प्रदेशमा ईश्वर कार्की, मधेशमा उमाप्रसाद चतुरवेदी, गण्डकीमा अरुण पौडेल, गण्डकीमा दिनेश आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट र सूदुरपश्चिममा डम्बरबहादुर बिक सरुवा भएका छन्।
गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ। सीआईबीको प्रमुख भने एआईजी चन्द्रकुबेर खापुङ छन्।
Shares

प्रतिक्रिया