अमेरिकामा कोरोना भाइरसको संक्रमणले साढे ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने २ लाखभन्दा बढी संक्रमित भएका छन्।
अमेरिकाकाे बाल्टिमोरस्थित जन्स हप्किन्स विश्वविद्यालयको ताजा तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ४ हजार ७ सयभन्दा बढी जनाको मृत्यु भएको हो। यसैगरी २ लाख १३ हजार मानिस यसबाट संक्रमित भएका छन्।
अमेरिकामा सबैभन्दा बढी संक्रमण न्युयोर्कमा फैलिएको छ। जहाँ मात्रै संक्रमित ७६ हजारभन्दा बढी भइसकेका छन्।
कोरोनाको इपिसेन्टर न्युयोर्कलाई मानिएको छ। न्युयोर्कमा पनि सबैभन्दा बढी संक्रमित क्विन्समा छन्। त्यसैले पनि क्विन्स इपिसेन्टरको पनि इपिसेन्टर घोषणा गरिएको छ। जहाँ मात्रै १३ हजारभन्दा बढी मानिस काेराेनाबाट संक्रमित भएका छन्।
न्युयोर्क प्रदेशका गभर्नर एन्ड्रु कओमेले बाँकी प्रदेशमा पनि स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन्।
यसअघि अमेरिकाका उपराष्ट्रपतिले पनि कोरोनाका कारण अमेरिकाको हालत इटलीको जस्तै हुने चेतावनी मंगलबार दिएका थिए।
कोरोनाका कारण अहिलेसम्म विश्वमै सबैभन्दा बढी इटलीमा १३ हजार १५५ जनाको मृत्यु भएको छ। तर संक्रमित भने अमेरिकाको भन्दा कम नै छ अर्थात् १ लाख १० हजार ५०० सयभन्दा केही बढी छ।

प्रतिक्रिया