समाज


पत्रकार बिनु सुवेदीलाई अम्बिका देवी ओली राष्ट्रिय पत्रकारिता पुरस्कार

पत्रकार बिनु सुवेदीलाई अम्बिका देवी ओली राष्ट्रिय पत्रकारिता पुरस्कार

नेपालखबर
बैशाख १५, २०८२ सोमबार २०:५५, काठमाडौँ

वि.स.२०८१ (सन् २०२४) को ‘अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ पत्रकार बिनु सुवेदीलाई प्रदान गरिने भएको छ। 

‘रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान’ले दिने यो पुरस्कारको राशि १ लाख ११ हजार १११ रुपैयाँ छ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले सोमबार (वैशाख १५ गते) जारी गरेको विज्ञप्तिअनुसार ‘पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा महिलाको नाम स्थापित गर्न पुर्‍याएको योगदानको कदरस्वरूप’ यसपटक सुवेदीलाई उक्त पुरस्कार दिन लागिएको हो। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘महिलाहरूको विषय नमानिने असहज र जोखिमपूर्ण राजनीतिक बिटको पत्रकारिताबाट विगत २० वर्षअघि १५ वर्षको कलिलो उमेरदेखि नै कलम चलाउन सुरु गर्नुभएकी बिनु सुवेदी विभिन्न आरोह, अवरोध र व्यवधानहरूका बीचबाट पत्रकारितालाई आफ्नो कर्म बनाई अभ्यासरत मूलधारका सञ्चारमाध्यममा पहिलो महिला सम्पादकका रूपमा स्थापित नाम हो।’

बिनु सुवेदी नेपालखबरका पूर्वसम्पादक हुन्। 

पत्रकारिताका क्रममा सुवेदीले हत्या र बलात्कारको धम्कीसमेत खेप्नुपरेको छ। 

मूलत: राजनीतिक विषयमा कलम चलाउने सुवेदीले सीमान्तकृत समुदायका मुद्दाका समाचार पनि प्राथमिकताका साथ लेख्ने गरेकी छन्। 

यसैगरी ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ एकल महिला अधिकार क्षेत्रमा ३० वर्षदेखि सक्रिय महिलाका लागि मानव अधिकार एकल महिला समूहलाई प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापाले स्थापना गरेको यस संस्थाले पाउने पुरस्कारको राशि पनि १ लाख ११ हजार १११ रुपैयाँ छ।

यस्तै १ लाख १ हजार १११ राशिको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार हेलम्बुकी ११ वर्षीया सदीक्षा पण्डित र नवलपरासीकी १४ वर्षीय त्रिदेव पौडेललाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ।

सदीक्षा बालविवाह, महिला हिंसा, जातीय भेदभाव, महिनावारी र वातावरणसम्बन्धी अभियानमा सक्रिय छिन् भने पौडेलले १३ कविता, ९ कथा, १७ निबन्ध, ४ नाटक र ४० भन्दा बढी चित्र सिर्जना गरेका छन्। 

यही वैशाख २० गते नेपाल पर्यटन बोर्डमा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा समारोह आयोना गरी उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad