समाज


टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि हरैँचा बजारमा तनाव

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि हरैँचा बजारमा तनाव

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १७:१२, सुन्दरहरैँचा (मोरङ)

सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

टिपरको ठक्करबाट आज सुनसरी दुहबी–९ का ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

विराटनगर विराटचोक सडकखण्डअन्तर्गत हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई बिहान ११ बजेतिर ठक्कर दिएको थियो। विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

दुर्घटनालगत्तै भेला भएका स्थानीयले विराटनगर विराटचोक सडकखण्ड अवरूद्ध बनाएर प्रदर्शन गरेका थिए। भिडले शवलाई सडकबाट उठाउन नदिएर घटनास्थलमा प्रदर्शन तथा सडक जाम गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास तथा हवाइफायर गर्नुपरेको कोसी प्रदेशका प्रहरी प्रवक्ता दाहालले उल्लेख गरे।

हातमा भाला र लाट्ठीसहित प्रदर्शनमा उत्रिएका स्थानीयले आगजनीको प्रयास गर्दा टिपरमा  क्षति पुगेको छ। घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल र सशस्त्र तथा ट्राफिक प्रहरी परिचालन गरिएको थियो। ट्राफिक प्रहरीले उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई ‘डाइभर्ट’ गरेका थिए। सडकमै शव राखेर प्रदर्शनमा उत्रिएको भिड तथा अफन्तले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको उल्लेख गरेका छन्।

दुर्घटनापछि प्रहरी र आफन्तबीच सहमति गरेर शव उठाइएको छ। मृतकका आफन्त र स्थानीयले भने टिपरले ब्याक गरेर किचेर मारेको बताएका छन्। आफन्तले टिपरमा आगजनी गर्न खोजेपछि केही समय स्थिति तनावपूर्ण बनेको थियो। टिपर चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad