समाज


पाथीभरा केबलकारविरुद्ध आन्दोलन गर्नेहरू भन्छन् : सरकारले वार्ता नगरी पेल्ने काम गरेको छ

पाथीभरा केबलकारविरुद्ध आन्दोलन गर्नेहरू भन्छन् : सरकारले वार्ता नगरी पेल्ने काम गरेको छ

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १७:२४, काठमाडौँ

पाथिभरा (मुकुम्लुङ) मा केबलकार निर्माण गर्नु हुँदैन भनेर आवाज उठाइरहेका ‘पहिचानका लागि युवा’ संस्थाले वार्ता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्ष तयार हुनुपर्ने बताएको छ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न आफूहरू तयार रहेको बताएको हो।

पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष कृष्ण चोङवाङले आफूहरू विकास विरोधी नरहेको भन्दै समस्या समाधानका लागि सरकारसँग खुला ढंगले वार्ता गर्न तयार रहेको बताए। उनले आन्दोलनरत समूहहरुरूसँग सरकारले वार्ता नगरी पेल्ने काम गरिरहेको गुनासो गरे। 

उनले विभिन्न तरिकाबाट वार्ताको पहल भइरहे पनि सरकारले बेवास्ता गरेको बताए। समस्या समाधानका लागि ध्यानाकर्षण होस् भनेर काठमाडौंमा पत्रकार सम्मेलन गरिएको बताए। आन्दोलनरत समूहलाई सरकारले बोलाएर समस्याको पहिचान गरे वार्ता र संवादबाटै समस्याको समाधान निस्किने उनको भनाइ छ।
 

‘वार्ताको लागि अगाडि आन्दोलनमा त अलग अलग समूह पनि हुन्छन्, धेरै संघसंस्था मिलेर गरेको हो। त्यसमा अगाडि केही वार्ताहरू भएका छन्। तर सार्थक वार्ता हुन सकेन। त्यसले निकास दिन सकेन मलाई थाहा भएसम्म त्यहाँ पनि सरकारले वा सरकारी पक्षले पेल्ने काम मात्रै गरिराछ’ उनले भने, ‘होइन यसरी पेलेरै जाने हो भने प्रतिरोधमै उत्रिन्छौँ। हामी खुल्ला ढंगले संवाद पनि गर्नसक्छौँ, गर्नुपनि पर्छ।’

लिम्बूवान ब्रदरहुडका अध्यक्ष मिक्तोक लिम्बूले पाथीभरा लिम्बुको अस्तित्व र पहिचानसँग जोडिएको धरोहर भएकाले केवलकार निर्माण गर्दा पहिचान नगुम्ने ग्यारेन्टी हुनुपर्ने बताए। उनले आफ्नो माग सम्बोधनका लागि विगत सात वर्षदेखि विभिन्न आन्दोलनमार्फत ध्यानाकर्षण गराएपनि सरकारले नसुनेको बताए। 

विश्वका जुनसुकै युद्ध, क्रान्त्रि वा राजनीतिक आन्दोलन वार्ता र सम्बादबाटै समस्या समाधान भएको भन्दै उनले केवलकार निर्माणको विषय पनि सम्बादबाटै हल हुने बताए। विकासको मोडलबारे स्थानीयस्तरमा छलफल र बहस हुनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘हामी विकास विरोधी होइनौँ। विकास हुनुपर्छ तर नेपालको विकासको मोडालिटी कस्तो हुनुपर्छ भनेर छलफल र बहस गर्नुपर्छ भन्ने जोडदार माग पनि गछौँ।’

पहिचानका लागि युवाका केन्द्रीय संयोजक विराज आङदम्बे लिम्बूले स्थानीय पहिचानसँग जोडिएका सभ्यताको अस्तित्व रक्षाका लागि राज्यसँग लडाईं भइरहेको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले दिएको अधिकार सदुपयोग गरी आफूहरु जनताको भावना जोडिएको संस्कृति रक्षाका लागि आन्दोलन गरेको बताए।  

संस्थाले स्थानीय पहिचान र अस्तित्व कायम गरी विकास निर्माण गर्नुपर्ने जनाएको छ। राज्यले दमन कायम जारी राख्ने तथा केवलकार निर्माण कम्पनीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने हो भने आन्दोलनलाई तेस्रो जनआन्दोलनको रुपमा अघि बढाइने चेतावनी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad