कसैमा कोरोना भाइरस छ कि छैन भनेर परीक्षण गर्ने ठाउँ काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्रै रहेकामा अब सरकारले यस्तो सेवा देशका अन्य स्थानमा पनि विस्तार गर्दै लगेको छ।
त्यस क्रममा प्रदेश १ को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी प्रदेशको पोखरामा परीक्षण सेवा सुरु भइसकेको सरकारले जनाएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काेराेना परीक्षण सेवाकाे सुरुवात धरानमा चैत १६ गते सुरु भइसकेकाे छ भने पोखरामा चैत १८ अर्थात् आज यस्तो प्रयाेगशाला प्रारम्भ गरिएको हो।
यसैगरी प्रदेश २ को जनकपुर, वाग्मती प्रदेशको हेटौंडा, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको धनगढीमा पनि कोरोना परीक्षण प्रयोगशाला सुरु हुँदै छ। यसका लागि आवश्यक उपकरण तथा औजारसहितको विज्ञ टोली मंगलबार साँझै पुगेकाे मन्त्रालयले जानकारी दिएको छ।
यसैगरी वाग्मती प्रदेशकै चितवनमा पनि यस्तो प्रयोगशाला स्थापना बुधबार सुरु गरिँदै छ। यस्तै प्रदेश ५ को बुटवलमा २-३ दिनभित्र कोरोना परीक्षण सुरु गरिनेछ भने नेपालगन्जमा पनि चाँडै यस्तो सेवा थालिने जानकारी स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमार्फत दिएको छ।
केही महिना अघिसम्म कोरोना भाइरसको परीक्षणमै नेपालमै हुन्थेन। जतिखेर चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएको थियो, त्यतिखेर कसैमा कोरोना संक्रमणको आशंका भयो भने उसको स्वाब (र्याल) परीक्षणका लागि हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामै पठाउनुपर्ने बाध्यता थियो।
चीनको उहानबाट फर्किएका एक नेपालीको स्वाब पनि हङकङकै प्रयोगशालामा पठाएर गरिएको थियो। जो नेपालमा सुरुका संक्रमित व्यक्ति थिए। अहिले निको भइसके।
जब चीनसहित अन्य मुलुकमा पनि कोरोना संक्रमण फैलिन थाल्यो र नेपाल पनि त्यसको प्रभावमा पर्न थाल्यो, तब सरकारले टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रविधि जडान गरी यो संक्रमणको परीक्षण थालेको हो।
अहिलेसम्म यही प्रयोगशालामा मात्रै कोरोना परीक्षण हुने गरेकामा अब भने सरकारले प्रदेशस्तरमा पनि यो सेवा विस्तार गर्दै लगेको हो।
प्रतिक्रिया