समाज


उपत्यका विकास प्राधिकरणका करारका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा, भेटियो ३ करोड बढी अवैध आम्दानी

उपत्यका विकास प्राधिकरणका करारका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा, भेटियो ३ करोड बढी अवैध आम्दानी

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १५:५६, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका करारका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

प्राधिकरणको जिल्ला आयुक्तको कार्यालय, काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन (करार) पदमा कार्यरत दिनेश प्रसाद यादवविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दामा दायर गरेको हो। 

यादवको २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसाको स्रोत नखुलेको भेटिएपछि गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले मुद्दा चलाएको हो।

अख्तियारको विश्लेषणअनुसार, यादवले तलबी, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट कुल २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसाको वैध आय गरेको देखिएको छ। सोही अवधिमा उनले घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायत शीर्षकमा कुल ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसाको खर्च गरेको देखिएको अख्तियारले जनाएको छ।
 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसुरमा दोषी किटान गरी दफा २०(२) बमोजिम सजाय माग गरेको छ।

यस्तै, सो गैरकानुनी सम्पत्तिबाट आर्जन भएको रकम र त्यसबाट बढाइएको सम्पत्ति दिनेश यादवले श्रीमती अमृता कुमारी यादवको नाममा राखेको देखिएको हुँदा श्रीमती अमृतालाई पनि प्रतिवादी बनाई सम्पत्ति जफतका लागि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad