ad ad

समाज


लकडाउनले सडकका हजारौं जनावर भोकै, महानगरलार्ई छैन चासो

लकडाउनले सडकका हजारौं जनावर भोकै, महानगरलार्ई छैन चासो

सन्तोष न्यौपाने 
चैत १८, २०७६ मंगलबार ९:२७,

मुलुकमा लकडाउन भएको सातौ औं दिन काठमाडौँ थापाथलीको सडकमा एक हुल बाँदर खानेकुराको लागि तछाडमछाड गरिरहेका थिए।

गाडीमा आएका तीन जनाले आलु, केरा, फलफूल जस्ता केही खानेकुरा उनीहरुलाई दिए। सायद उनीहरुले खान नपाएको धेरै दिन भइसकेको थियो। खाना पाउँदा झम्टिझम्टी खाइरहेका थिए।

लकडाउनका कारण सहर नै बन्द भएपछि सडकमा रहेका बाँदर, कुकुर, गाई, परेवाजस्ता पुशपन्छीलाई भोकै बस्नु परेको छ। सडकका हजारौं जनावर भोकै रहेपछि पशु कल्याणमा काम गर्ने संस्था स्नेह केयरले अलिकति भए पनि खाना खुवाउने व्यवस्था सुरुवात गरेको हो।

यसै सिलसिलमा थापाथलीमा भेटिएकी स्नेह केयरकी संस्थापक स्नेह श्रेष्ठले काठमाडौंका विभिन्न ठाउँमा हरेक दिन सडक जनावरलाई खाना खुवाइरहेको बताइन्।

‘सरकारी तर्फबाट यी जनावरलाई खुवाउने केही काम भएको जस्तो लागेन,’ श्रेष्ठले भनिन्, ‘हामीले यिनीहरु भोकै नहुन भनेर खुवाइरहेका छौं।’

उनको सानो प्रयासले सडकमा रहेका केही जनावरलाई त अलिकति भए पनि खाना पुगेको छ। तर, काठमाडौँजस्ता सहरी क्षेत्रमा रहेका हजारौं यस्ता जनावर कोरोना संकटका कारण भोकै बस्नु परेको छ। निजी क्षेत्रबाट केही संस्थाले खाना खुवाउन सुरु गरे पनि सरकारी निकाय भने यसप्रति चासो देखाएको छैन।

संघीय सरकारदेखि महानगरपालिकाले सम्म त्यस्ता जनावरका लागि कुनै पनि योजना बनाएका छैनन।

संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले मन्त्रालयबाट त्यस्तो केही कार्यक्रम तय नगरिएको बताए। मन्त्रालयले खासगरी कृषि तथा कृषकमा केन्द्रित भएकाले सडकका जनावार व्यवस्थापनमा महानगर तथा नगरपालिकाले काम गरिरहेको बताए।

sneha care 1

‘हामीले सडक जनावरका लागि विशेष कार्यक्रम केही बनाएका छैनौं,’ केसीले भने, ‘यसमा नगरपालिकाहरुले केही गरिरहेका छन्।’

केन्द्रीय सरकारले स्थानीय तहले सडक जनावरका लागि काम गरिरहेको बताए पनि तल्लो तहमा पनि कुनै पनि ठोस योजना बनेको देखिँदैन।

काठमाडौं क्षेत्रका सडकमा रहेका जनावरको हेरचाह र व्यवस्थापन गर्ने मुख्य जिम्मेवार निकाय काठमाडौं महानगरपालिका हो। कोरोनो संकटले मुलुक लकडाउनमा गएको ८ दिन भइसक्दा पनि यी जनावारलाई खाना खुवाउने कुनै पनि योजना बनेको छैन।

‘हामीले अहिलेसम्म सडकका जनावरलाई खाना खुवाउने केही योजना बनाएका छैनौं,’ नेपालखबरसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘अब केही योजना बन्ला।’ महानगरपालिकाको सोमबारको बैठकले यस क्षेत्रमा रहेका मजदुरको लागि राहत प्याकेज दिने निर्णय गरेको छ।

sneha care 7

सडकमा रहेका जनावरको बारेमा भने केही कुरा नभएको उनले बताए।

प्रवक्ता डंगोलका अनुसार यस महानगरपालिका भित्र झन्डै २४ हजार सडक कुकुर छन्। त्यसबाहेक बाँदर, गाईबाछा, परेवाको संख्या कति छ भन्ने महानगरपालिकासँग तथ्यांक नै छैन।

कुकुरमात्र २४ हजारको संख्यामा रहेको अवस्थामा अन्य जनावरसहित उपत्यका हजारौं संख्यामा सडक जनावर रहेको देखिन्छ। लकडाउनका कारण मुलुकका साढे दुई करोड जनसंख्या घरभित्र रहेको, होटल रेष्टुरेन्ट बन्द रहेको अवस्थामा यिनीहरु खाने खानाको अभाव भएको छ।

६ वर्षदेखि पशु कल्याणमा काम गरिरहेकी श्रेष्ठले सरकारले भोकै रहेका जनावर नहरेको बताइन। ‘हामीलाई जस्तै जनावरलाई पनि त भोक लाग्छ नि,’ श्रेष्ठले भनिन्, ‘यिनीहरु भोकै मर्नु त भएन।’
उनीहरुले लकडाउन सुरु हुनभन्दा एक दिन अघिदेखि नै काठमाडौंका रिङरोड वरिपरि, पशुपति, स्वयम्भूजस्ता जनावर धेरै रहेको क्षेत्रमा खाना खुवाउन सुरु गरेका थिए। २ टिम बनाएर बाँदर, कुकुर, बाटोमा भेटिएका गाईबाछाहरु, परेवा खाना दिइरहेको उनले बताइन्।

‘लकडाउनले गर्दा प्रशस्त खाना पाइएको छैन,’ श्रेष्ठले भनिन्, ‘जसोतसो गरेर कुकुरलाई डगफुड, बिस्कुट र बाँदरहरुलाई उसिनेको आलु, भिजाएको गेडागुडी, परेवालाई चामल, बाछाहरुलाई बन्दा खुवाइरहेका छौं।’

sneha care 8

संघीय सरकारको मन्त्रिपरिषदको आइतबारको बैठकले कोरोना भाइरस महामारीले प्रभावितहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ। सरकारले स्थानीय तह र प्रदेश सरकारले राहत कोष खडा गरेर अनौपचारिक क्षेत्रका पीडित श्रमिकहरुलाई राहत दिनेदेखि, विद्युत महसुल, खाद्यान्नमा छुट, स्कुलको शुल्क र मजदुरको घरभाडा मिनाहाजस्ता सुविधा दिएको छ।

सरकारले मजदुरलगायतका अन्य कर्मचारीको यस्ता सुविधाको प्याकेज घोषणा गरे पनि कृषक तथा सडकमा रहेका जनावरको लागि कुनै पनि प्याकेज नआएको अर्थविद्हरुको भनाइ छ।

नेपाल सरकारका पूर्व अर्थ सचिव तथा अर्थविद् रामेश्वर खनालले धेरै क्षेत्र समेटिएको तर कृषक तथा पशुपक्षी व्यवस्थापनको लागि सम्बोधन नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .