समाज


ललितपुरमा एक महिनादेखि बेपत्ता बालिकाको आफ्नै दाजुले हत्या गरेको प्रहरीको निष्कर्ष

ललितपुरमा एक महिनादेखि बेपत्ता बालिकाको आफ्नै दाजुले हत्या गरेको प्रहरीको निष्कर्ष

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १६:५२, काठमाडौँ

ललितपुरको मंगलबजारमा बस्ने ११ वर्षकी बालिकाको हत्या उनकै दाजुले गरेको खुलासा भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ वर्षका दाजुलाई पक्राउ गरेसँगै घटना बारे खुलासा भएको प्रहरीले जानकारी दिएको छ।

उनीहरु बझाङको सुर्मा गाउँपालिका ४ घर भई मंगलबजारमा डेरा बस्दै आएका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीका अनुसार पक्राउ परेका किशोरले हत्या स्वीकार गर्दै लागु औषध सेवन गरेका कारण आवेसमा हत्या भएको बताएका छन्।

ललितपुर महानगरपालिका १२ मंगलबजारमा बस्ने ११ वर्षकी दुर्गा बोहरा हराएको भन्दै उनकी आमा भगवतीले चैत ६ गते प्रहरी कायार्नशलयमा खोजतलासको लागि निवेदन दिएकी थिइन्।
चैत ४ गते राति साढे ९ बजेबाट हराएको उनको निवेदनमा उल्लेख थियो।

प्रहरीले खोजतलास गर्ने क्रममा २०८१ चैत २९ ललितपुर महानगरपालिका ९ खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरमा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो।  

त्यसपछि प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेका थिए। मृतकका कान्छा दाईलाई सोमबार अनुसन्त्रान कार्यालयले पक्राउ गरेको थियो।

ललितपुर महानगरपालिका १२ मंगलबजारबाट नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

बालिका मृत फेला परेकै घरमा उनीहरु फागुन २५ गतेसम्म डेरा बसेको खुलेको छ। त्यसपछि उनीहरु डेरा सरेका थिए।

सोही घरमा भाडामा बस्ने अर्को परिवार पनि चैत २ गते अन्यत्र डेरा सरेका थिए। त्यसपछि उक्त घर खालि थियो।

चैत ४ गते मृतक र उनका दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घर तर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको थियो।

दाजु बहिनी सँगै गएको फुटेज भेटिए पश्चात दाजुमाथि शंका गरेर प्रहरीले सोधपुछ गरेको थियो। उनले कोठा सर्दा छुटेका कपडाहरु लिन भनि दाजु बहिनी गएको बताएका थिए।

त्यही बेला सामान्य विवाद हुँदा बहिनीलाई पिटि सोही ठाउँमा रहेको नाइलनको डोरीले पछाडीबाट घाटी कसेर भुईमा लडाई छोडी भागेको बताएका छन्।

दाजु बहिनीले नै लागु औषधको ट्याबलेट खाएको र त्यसको नशामा आफु भएकोले त्यस्तो घटना हुन गएको १५ वर्षका किशोरले प्रहरीलाई बताएका छन्।

चैत ५ गते बिहान नशाले छोडेपछि किशोर हिजो बहिनी माथि गरेको आक्रमण सम्झेर घटनास्थलमा गई हेर्दा बहिनिको मृत्यु भएको भेटेका थिए।

बहिनीको लाश भुइ तलाको भर्याङको छेउमा देखेपछि शव ट्याङ्किमा हालेर सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडि गएका थिए।

पक्राउ परेका किशोरलाई कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान तथा कारबाही अगाडी बढाउनका लागि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad