समाज


१३ दिनदेखि सडकमा शिक्षकहरू

१३ दिनदेखि सडकमा शिक्षकहरू

नेपालखबर
बैशाख १, २०८२ सोमबार १६:०, काठमाडौँ

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज १३ औँ दिनपनि प्रदर्शन जारी राखेका छन्। सरकार र शिक्षकबीच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका हुन्। 

आन्दोलन नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंको माईतीघर मण्डलमा सुरु भएको थियो। एक सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरुले चैत २६ गतेदेखि शैक्षिक हड्ताल गरी आन्दोलनलाई थप तिब्रता दिएका छन्। 

सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ।  लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासिन बनेको उनीहरुले आरोप लगाएका छन्। 

संसदको नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरु विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ। 

गत चैत्र २० गते भन्दाअघि नै विद्यालय तहका सबै प्रकारका वार्षिक परीक्षा सकिएकाले पठनपाठनमा असर नपुगे पनि भोलि (वैशाख २ गते) देखि नयाँ शैक्षिक वर्ष शुरु हुने भएकाले शैक्षिक हड्तालले प्रत्यक्ष असर गर्ने देखिएको छ।

वैशाख २ गतेदेखि  देशभरका विद्यालयहरुमा नयाँ विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन हुनुपर्ने शैक्षिक कार्यतालिका रहेको छ। 

शान्तिपूर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने नेपाल शिक्षक महासंघले यसअघि नै बताइसकेको छ। 

गत वर्ष पनि यही माग राखेर शिक्षकहरुले आन्दोलन गरेका थिए। आन्दोलनपश्चात २०८० साल चैत २० गते माग सम्बोधन गर्ने गरी सरकारसँग सहमती भएको थियो। तर सहमति भएको एक वर्ष पुग्दासमेत कार्यान्वयन गर्न सरकारले कुनै संकेत नदेखाएपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन्। 

१३ दिनेदखि जारी आन्दोलनको सम्बोधन तथा शिक्षकहरूको माग पूरा गरी शिक्षकहरूलाई तत्काल विद्यालय फर्काउनुपर्ने दबाबमा सरकार रहेको छ भने नयाँ शैक्षिक सत्र सुरु भएसँगै शैक्षिक हड्ताल फिर्ता लिएर विद्यालय सुचारु गर्न शिक्षकहरूलाई पनि नैतिक दबाब परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad