समाज


हुम्लादेखि दुइटा जहाज फेरेर माइतीघर आइपुगेका जयरुद्र: जो डेउडासँगै घन्काउँदै छन् नारा

हुम्लादेखि दुइटा जहाज फेरेर माइतीघर आइपुगेका जयरुद्र: जो डेउडासँगै घन्काउँदै छन् नारा

हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाका शिक्षक जयरुद्र ढकाल आन्दोलनका क्रममा काठमाडौँको बबरमहलमा


आयुषा ढकाल
चैत २९, २०८१ शुक्रबार १६:३४, काठमाडौँ

घरी डेउडा भाका गाउँदै त घरी नारा लगाउँदै छन्, मावि तहका अंग्रेजी शिक्षक जयरुद्र ढकाल।

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा १० वर्ष शिक्षण पेसामा खर्चिइसकेका उनको यो प्रस्तुति यतिखेर कुनै कक्षाकोठा वा अरू शैक्षिक मञ्चमा होइन, काठमाडौँको माइतीघर-बबरमहलका सडकमा देखिन्छ।

देशभरबाट आएका आफूजस्तै शिक्षकहरूको हुलमा मिसिएर भन्दैछन् उनी, ‘हामी आको किन हो, शिक्षा ऐन लिन हो? ’

मदनादेव मावि, ताँजाकोटमा कार्यरत ढकाल हुम्लाबाट ५० जना शिक्षकका साथ शिक्षा ऐनका लागि दबाब दिन काठमाडौँ आएका हुन्। उनको यो १० दिनदेखिको दैनिकी निरन्तर छ। कहिलेसम्म यो चल्छ भन्ने पनि यकिन छैन।

हुम्लादेखि काठमाडौँको यात्रा तय गर्न जुन भुक्तमान बेहोर्नुपरेको छ, माइतीघर मण्डलको घाम, पानी, धुवाँ र धुलोमा दिनदिनै अनिश्चयको भारी बोकेर बस्नुपर्दाको थकानले पनि कम्ती गलाएको छैन उनलाई।

‘हामी हुम्लाबाट शिक्षक आन्दोलनका लागि ५० जना शिक्षक काठमाडौँ आएका छौँ,’ ढकाल भन्छन्, ‘देशका अरू भेगबाट आउनजस्तो सजिलो छैन, हुम्लाबाट आउन। दुईटा जहाज बदलेर, धेरै किसिमका समस्या र कठिनाइका साथ आएका हौँ।’

उनका भनाइमा, यहाँसम्म आइपुगेर आन्दोलनमा खटिँदा एकजना शिक्षककै खर्च एक लाख रूपैयाँ खर्च लाग्ने स्थिति छ।

‘यस्तो खराब मौसम हुँदाहुँदै दुईटा जहाज चढेर काठमाडौँ आएका हामी हाल होटेलमा बसेका छौँ,’ ढकाल भन्छन्, ‘यति गर्दा पनि शिक्षा ऐन जारी हुने भए त सन्तुष्‍टिका साथ कर्मथलो हुम्ला फर्कने थियौँ।’

सरकारले विद्यालय शिक्षा विधेयक ल्याउन लापरवाही गरेको उनको ठम्याइ छ। र, संविधान जारी भएको दस-दस वर्ष बितिसक्दा पनि त्यसअनुकूल कानुन निर्माणमा बेवास्ता गर्नुलाई उनले शिक्षाप्रति खेलवाडका रूपमा बुझेका छन्।

‘यो निकै निराशाजनक कुरा हो,’ उनी भन्छन्, ‘यही कुरामा सरकारको ध्यानाकर्षण गराउँदै शिक्षा ऐन जारी गर्नका लागि दबाब दिन हामी हुम्लादेखि आएका हौँ।’

काठमाडौँ आएर शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको यतिका दिन बितिसक्दा पनि सरकारले शिक्षकका आवाज नसुनिदिएको उनको गुनासो छ।

‘आधिकारिक रूपमा शिक्षक महासंघलाई चिठी काटेर, शिक्षा ऐनको विषयमा छलफल गरौँ भन्नुपर्ने हो,’ उनले भने, ‘महासंघले दिएका तीनवटा विकल्प संसदको विशेष अधिवेशन, अध्यादेश वा बर्खे अधिवेशनलाई चाँडो बोलाएर हामी छलफल गर्छौँ भन्‍ने विषय थियो। तर त्यस विषयमा कुनै छलफल संवादै नगरी सरकारले बेवास्ता गरेको छ।’

यदि शिक्षक पेसालाई व्यवस्थित, मर्यादित र सुविधायुक्त बनाइदिएको भए हुम्लाजस्तो विकट जिल्लामा शिक्षक पाउन असहजता पनि हुँदैनथ्यो भन्ने उनलाई लागेको छ।

‘हामीले १३-१४ पटक माविको अंग्रेजी, विज्ञान, गणित विषयको शिक्षकका लागि विज्ञापन निकाल्दा पनि शिक्षक नपाइने स्थिति छ,’ ढकाल विकट क्षेत्रको शिक्षा क्षेत्रका समस्या र अनुभव सुनाउँछन्, ‘कारण, शिक्षा पेसाले पाउनुपर्ने जति सम्मान पाइरहेको छैन। यसै पनि हुम्लामा चिसोको कारण विद्यालय कम सञ्‍चालन हुने गर्छ। भौगोलिक हिसाबले पनि धेरै कठिनाइ छन्। तर पेसागत हिसाबमा सेवा, सुविधा र सम्मान मिल्ने भए आज हामी शिक्षकहरू यसरी सडकमा उत्रिनुपर्ने स्थिति हुने थिएन।’

विद्यार्थीहरू ५० प्रतिशतभन्दा बढी फेल हुनुमा शिक्षकलाई मात्र दोष दिइएकोमा पनि उनको चित्त दुःखाइ छ। यसमा अभिभावक, विद्यार्थी र सरकार उत्तिकै जिम्मेवार हुने उनको बुझाइ छ।

कसरी त?

‘हामीले नै पढाएका ४ जीपीए ल्याएका विद्यार्थी पनि छन्,’ उनी अर्थ्याउँछन्, ‘विद्यार्थीको घरायसी वातावरणले पनि प्रभाव पारेको हुन सक्छ तर दोष भने सधैँ शिक्षकमाथि नै थोपरिन्छ।’

शिक्षणमा राम्रो जनशक्ति आकर्षित हुन नसक्नु र भएको पनि नटिक्नुका कारण खोजेर त्यसको निवारण गर्नतिर नलाग्दाको परिणाम पनि देशले भोगिरहेको उनको विश्लेषण छ।

‘अन्य राष्‍ट्रमा योग्य जनशक्ति शिक्षण पेसामा जान खोज्छ,’ उनी भन्छन्, ‘किनकि, त्यहाँ पेसालाई आकर्षक बनाइएको हुन्छ। राम्रो सेवा सुविधा छ। तर हामीकहाँ शिक्षकले न पाउनुपर्ने सम्मान पाएको छ, न त राम्रो सेवा-सुविधा नै।’

शिक्षक ढकालका अनुभवमा, जीवनभर चक-डस्टरसँग खटिएका शिक्षकको हालत अवकास पाउँदासम्म शारीरिक, मानसिक र आर्थिक रूपमा दयनीय भएर अवकास लिने स्थिति छ। निकै दयनीय भइसक्छ। अब त्यो अवस्था आउनुहुँदैन भनेर उनी सरकार र संसदको ध्यानाकर्षण गराउन उनी सडकमै निस्किएका छन्।

‘थाहा छैन, हाम्रो माग कहिले पूरा हुन्छ?’ लामो सुस्केरा हाल्दै ढकाल भन्‍छन्, ‘तर पनि पूरा नभएसम्म एकजुट भएर लागिपर्नेछौँ। हाम्रो कुरालाई सरकारले सुन्‍नैपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad