रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिरमा तीन लाखभन्दा बढी भक्तजनले पूजाअर्चजना गरेका छन्।
श्रीरामचन्द्र मन्दिर जीर्णोद्वार समितिका अनुसार आइतबार बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तले पूजाअर्चना गरेका हुन्।
मन्दिरमा बिहानैदेखि भक्ति सङ्गीत कार्यक्रम जारी छ। कार्यक्रममा रमेश पोखरेल, नारायण कोइराला, मनमोहन थपलिया, सङ्गीता प्रधान, रोशा फुयाँललगायत कलाकारले कार्यक्रमलाई निरन्तरता दिनुभएको छ। मन्दिर आज (आइतबार) राति ९ः०० बजेसम्म दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर वि.सं. १९२८ मा कम्याण्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले स्थापना गरेको त्यहाँ रहेको शिलालेखमा उल्लेख छ। मन्दिर सञ्चालनका लागि उनले काठमाडौँका विभिन्न स्थानमा ३७३ रोपनी जग्गा गुठी राखेका थिए।
Shares

प्रतिक्रिया