कोरोना भाइरसको महामारीले संसारका बहुसंख्यक मानिसको जीवनलाई प्रभावित पारेको छ। अझ केहीको जीवनमा यसले कल्पनै गर्न नसकिने विपद् र जटिलता निम्त्याएको छ। त्यस्तै विपदको सामना गरिरहेकी छन्, रोल्पा नगरपालिका–२ रेउगाकी मीना बुढामगर।
विश्वव्यापी लकडाउनका कारण वैदेशिक रोजगारीमा कतार गएका उनको श्रीमानको शव उतै अड्किएको छ।
मीनाका पति रामविष्णको फागुन २६ गते कतारमा मृत्यु भएको थियो।
मीना दिन गनिरहेकी छन्– पतिले देहत्याग गरेको खबर उनले पाएको २१ दिन भयो। तर शव कहिले नेपाल आइपुग्ने हो उनलाई थाहा छैन।
सिंगो नेपाल ६ दिनदेखि लकडाउन छ। अत्यावश्यक बाहेकका गाडी चलेका छैनन्। आकाश पनि चकमन्न छ। आकस्मिक उडान भनेर कतार एयरवेजले शुक्रबार र शनिबार विदेशी नागरिकको उद्धार गर्यो। नेपाल एयरलाइन्सले चीनबाट औषधि लिएर आयो। यसबाहेक अरु उडान हुन सकेका छैनन्। यही कारण रामविष्णको कम्पनीले भनेको छ, ‘अहिले कार्यालय बन्द छन् शव पठाउन सकिँदैन।’
***
होलीको दिन थियो।
सरकारले होली नमनाउन सूचना जारी गरेका कारण पहिले जस्तो उल्लास त थिएन। तर, त्यो दिनसम्म मीनाको संसारमा अन्धकार पनि छाइसकेको थिएन।
उनका बालबच्चा आँगनमै दिनभर रङसँग रमाइरहे। तर, बेलुका उनले ती बालबच्चालाई बुबाको मृत्युको खबर सुनाउनु पर्यो।
कतारमा रामविष्ण केही समयदेखि बिरामी थिए। उनी फोनमा समेत बोल्न नसक्ने भएका थिए। उनको खबर सँगैका साथीहरुले मीनालाई सुनाउँथे। मीनासँगको अन्तिम कुराकानीमा रामविष्णले भनेका थिए–मलाई सास फेर्न गाह्रो हुन्छ।
त्यसपछि पतिसँग दोहोरो कुरा हुन सकेन मीनाको।
साथीहरुले मीनालाई रोग पत्ता लागिसकेको छैन भन्थे। तर एक्कासि उनको मृत्युको हल्ला मीनाले सुनिन्।
गाउँकै परदेशीहरुले सुनाएको खबर मीनाको कानसम्म आइपुुग्यो। त्यसपछि उनको होस उड्यो।
एक पटक कम्पनीका मान्छेसँग उनको फोनमा कुरा भएको थियो। त्यो नम्बर मीनाले राखेकी थिइन्। त्यसैमा मिस्डकल गरिन्।
उतैबाट फोन आयो। कम्पनीका सुपरभाइजर भारतीय थिए, हिन्दीमा बोले र रामविष्णको मृत्युको खबर पुष्टि गरे।
पहिले चार वर्ष साउदी अरबमा बसेका थिए रामविष्ण। सबै राम्रै भएको थियो। गत वर्ष घर फर्केर आएपछि उनी फेरि साउदी नै पुगेका थिए। तर, कम्पनीले उनलाई कतार पुर्याएका थिए।
गएको कात्तिकमा डेढ महिनाको छुट्टी लिएर घर आएका रामविष्णले राम्रोसँग तिहार माने।
जानेबेलामा भनेका थिए, ‘अब छोरी हुर्की, छोराको ख्याल गर्नू, भाङ, चरेस खाला ख्याल राख्नू।’
उनीहरुका छोरी १४ र छोरा १२ वर्षका छन्।
कतारमा कमाइ पहिलेकै जस्तो भएपनि तलब नियमित दिँदैनथ्यो कम्पनीले।
तिहार मनाउन आउँदा पनि कम्पनीले ३/४ महिनाको तलब दिन बाँकी रहेको बताएका थिए।
महिनैपिच्छे तलब नआएपनि बालबच्चा पढाउन समस्या थिएन। कतारकै कमाइले चामल किनेर भएपनि यताको दैनिकी धानिएकै थियो।
रामविष्णले पहिले साउदीमा कमाएको दुई लाख रुपैयाँ भाइलाई दिएर घर एकलौटी बनाए। अब केही वर्षपछि परदेशको बाटो बिट मार्ने तयारी थियो। तर, परदेशमै उनको जीन्दगी टुंगियो।
***
कतारमा करिब साढे चार लाख नेपाली कार्यरत छन्। बन्दाबन्दीमा त्यहाँ रहनेलाई अहिले ठूलो सकस छ।
‘यहाँ भएको भए बिरामी भएको बेला भेट्न हुन्थ्यो, के भएको हो थाहा हुन्थ्यो होला! तर विदेशमा त भोकले हो कि, तिर्खाले बित्नु भयो, केही थाहा छैन। हामीजस्तो दुःखी मान्छे त यो संसारमा नजन्मेको भए पनि त हुन्थ्यो होला नि!’ मीना भन्छिन्।
मीनाका फूपूका छोरा पनि कतारमै छन्। उनले भनेका छन्, ‘कागजपत्र मिलाइरहेका छौं, शव पठाउन अहिले मिल्दैन। कार्यालय बन्द छन्।’
शव झिकाइदिन कसलाई गुहार्ने, मीनालाई थाहा छैन।
‘कसलाई भन्नु र, चिनेको कसैलाई छैन, कम्पनीका सुपरभाइजरले मैले बोलेको बुझ्दैनन्, म पनि उनको कुरा बुझ्दिनँ,’ अप्ठेरो सुनाइन् मीनाले, ‘त्यो फोरमेनसँग कुरा नभाको पनि १०/१२ दिन भैगो क्यार। सबै कुरा बुझ्नु हुन्न क्यार, के बोल्ने बोल्ने। बन्द भएका बेला पनि कति मिसकल गरेको भन्लान् भनेर गर्दिनँ आजकाल त।’
अफिस खुलेपछि शव पठाइदिउँला भनेका छन् ती फोरम्यानले। त्यही प्रतीक्षामा छिन् मीना।
‘आज त २१ दिन भैगो। बन्द कहिले खुल्ला र शव आउला। यतिखेरै भाइरस आउनु सबै हाम्रा लागि भइदियो,’ मीना रुन्छिन्, ‘कति ठूला सपना बोकेर जानु भएको थियो। जीन्दगीमा कहिल्यै भनेको पुग्ने भएन। जानेबेला त्यसरी जाने, आउने बेलामा यसरी आउने?’
उनको मन कसैगरी मान्दैन।
मीना भक्कानिन्छिन्, ‘मलाई जस्तो यो संसारमा कसैलाई नपरोस्।’
***
दशौं लाख युवा वैदेशिक रोजगारमा पठाएको यो देशमा यस्तो दुःख बेहोर्ने मीना एक्लो व्यक्ति होइनन्।
खाडीकै अर्को देश यूएईमा पनि अर्का नेपालीको शव रोकिएको छ। आबुधावीमा रहेको बेभर्ली हिल्स मेडिकल सेन्टरमा कार्यरत बेलकोटगढी–१२, नुवाकोटका हरिशरण डोटेल एक हप्ताअघि आफ्नै कोठामा मृत भेटिए। उनको पनि शव ल्याउने प्रक्रिया अगाडि बढ्न सकेको छैन।
परिवारले उनको मृत्युलाई शंकास्पद भनेको छ। पोस्टमार्टम रिपोर्ट आउन सकेको छैन। कोरोना भाइरसको महामारीकै कारण यी सबै प्रक्रियामा प्रभाव परेको छ।
‘हाम्रो अंकलको हत्या गरिएको हुनुपर्छ, उहाँले आत्महत्या गर्नु भयो भन्ने हामीलाई विश्वास छैन,’ हरिशरणका भतिज अश्विन डोटेलले भने, ‘छानबिनको माग गरेका छौं, त्यो पनि अहिलेको अवस्थाले अगाडि बढ्न सकेको छैन, शव ल्याउने त कहिले हो कहिले।’
हरिशरण गएको मंसिरमा १५ दिनको छुट्टीमा आएर फर्किएका हुन्। ३५ वर्षीय हरिशरणले १३ वर्षको हुँदै बुवा गुमाएका थिए। २०७२ सालको भूकम्पमा उनले छोरो गुमाए। अहिले आफू पनि परदेशमै परलोक भए। उनका श्रीमती र १४ वर्षकी छोरी शव कुरिरहेका छन् नुवाकोटमा।
विदेशस्थित नेपाली दूतावासहरुले पनि त्यहाँ काम गरिरहेका छैनन्। अत्यावश्यक काम परे फोनबाटै सल्टाउन भन्दै सूचना जारी गरेका छन्। यता वैदेशिक रोजगार बोर्डको पनि नियमित सेवा बन्द छ। बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएकाहरुको शव घरसम्म पुर्याइदिन्छ।
तर विदेशमै शव रोकिएपछि यी काम पनि अहिले हुन सकेका छैनन्।
वैदेशिक रोजगारीमा जानेहरु र तिनको परिवारले पाएको पीडा त्यसै पनि कम थिएन, त्यसमाथि कोरोना महामारीले झन् कष्ट थपिदिएको छ।
प्रतिक्रिया