काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरुको लगत संकलनको कामलाई अघि बढाउने भएको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको संन्त्राससँगै गरिएको लकडाउन पछि काठमाडौँ महानगर भित्र वसोवास गर्ने विपन्न, असहाय र दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरुलाई राहत वितरणका लागि प्रभावकारी बनाउन लगत संकलनलाई जतिसक्दो छिटो अघि बढाउने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।
आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपलब्ध प्रदेशसभा सदस्यहरु, महानगरपालिका प्रमुख शाक्य तथा सुरक्षा अधिकारीसहितको छलफलका क्रममा पनि प्रमुख शाक्यले राहत वितरणको कामलाई प्रभावकारी बनाउन लगत संकलन भइरहेको बताए।
छलफलमा मेयर शाक्यले राहत वितरणको काम वडाध्यक्ष र वडा समितिको नेतृत्वमा एकद्वार प्रणालीबाट गरिने जानकारी दिए।
‘विपन्न, असहाय र दैनिक ज्यालादारीमा मजदुरी गर्ने महानगरवासीलाई एकद्वार नीतिबाट राहत दिने विषयमा केन्द्रित भएर छलफल गरेका छौँ,’ प्रमुख शाक्यले भने, ‘कुनै संघ–संस्थाले सहयोग गर्न चाहन्छन भने पनि जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएर वडाध्यक्ष र वडा समितिका पदाधिकारीसँग समन्वय गरेर मात्रै गर्ने निर्णय भएको छ।’
त्यसैगरी प्रमुख शाक्यले काठमाडौँ महानगरवासीलाई ग्यास र खाद्यान्नको अभाव हुन नदिन र भिडभाड कम गर्नका लागि सकेसम्म खाद्यन्नलगायतका अत्याबश्यक पसलहरु दिनभरी नै सञ्चालन गर्ने व्यवस्थाका लागि पनि पहल गरिने बताए।
‘विहान–बेलुका एक छिन मात्र खोल्दा भिडभाड बढी हुने भएकाले ग्यास र अत्यावश्यकीय खाद्यन्नका पसलहरु दिनभरी नै खोलेर सकेसम्म पसल सञ्चालकले नै मागको आधारमा घर–घरसम्म पुर्याउने व्यवस्था गर्ने प्रयासमा लागेका छौँ’ उनले भने।
उनले सामान्य प्राबिधिक कारणले ल्याण्डफिल साइट जान नसकेको फोहोर आजबाट जान थालेको भन्दै अब फोहोरको समस्या पनि समाधान हुने बताए।
विदेश भ्रमण गरी मार्च १, २०२० (२०७६ फागुन १८) देखि हालसम्म वडामा वसोवास गर्दै आएका नागरिकको अभिलेख तयार गर्न र उनीहरु के–कस्तो अवस्थामा बसेका छन् सो को विवरण सहित लगत तयार गरी पठाउन पनि सबै वडालाई आग्रह गरिएको छ।
प्रमुख शाक्यले सरकारले तोकेको मापदण्ड भित्र रहेर कम्तीमा ५ सय बेडसम्मको क्वारेन्टिन निर्माण गर्न लागिएको पनि जानकारी दिए।

प्रतिक्रिया