काठमाडौँ उपत्यका १ महिनादेखि विश्वकै प्रदूषित सहरमा सूचीकृत भइरहेको छ। विश्वका प्रमुख सहरहरूमध्ये काठमाडौँको वायु सबैभन्दा बढी प्रदूषित रहेको एअर क्वालिटी इन्डेक्स (एक्यूआई)ले गरेको मापनले देखाएको छ।
२ दिनदेखि काठमाडौँ उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पहिलो स्थानमा रहेको छ। काठमाडौँको एअर क्वालिटी इन्डेक्स चैत्र १८ गते २३९ पुगेको थियो। मंगलबार बढेर २५६ पुग्यो। एअर क्वालिटी इन्डेक्स अनुसार उपत्यकाको हावा अति अस्वस्थ छ। प्रदूषित सहरहरूमा दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माइ र चौथोमा बङ्गलादेशको ढाका रहेको छ।
उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर बढी प्रदूषित रहेको देखिन्छ। भक्तपुरको बालकोट, सूर्यविनायक, मध्यपुर ठिमी, सल्लाघारी, चाँगुनारायण, ताथली क्षेत्रको एक्यूआई बढी छ। काठमाडौँको नागार्जुन क्षेत्रको बोहराटारमा सबैभन्दा बढी एक्यूआई २८५ रहेको छ। यस्तै ललितपुरको भैँसेपाटी, जावलाखेल क्षेत्र पनि बढी प्रदूषित छन्।
प्रदूषण मापनमा शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई सतर्क रहनुपर्ने रूपमा लिइन्छ। १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर मानिन्छ। २०१ देखि ३०० सम्मको वायुलाई अति अस्वस्थ वायु भनेर बुझिन्छ। ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ।
‘भिजिबिलिटी’ कमजोर हुँदा चैत्र १८ गते (सोमबार) अन्तर्राष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भए। बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको थिए।
किन बढ्यो प्रदूषण?
वातावरणमा तापक्रम बढ्दै जाँदा फागुनदेखि काठमाडौँ नै प्रदूषित सहरको सूचीमा पर्न थालेको छ। फागुन २६ गते काठमाडौँको वायु प्रदूषण विश्वमै तेस्रो स्थानमा थियो। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क एक्यूआई १ सय ९७ थियो। फागुन २७ मा प्रदूषित सहरमध्ये पाँचौँ स्थानमा थियो। सो दिन वायु प्रदूषण १८० एक्यूआई थियो।
२ दिनयता काठमाडौँको हावा निकै अति अवस्थकर बनेको छ। वातावरण विज्ञ भूषण तुलाधरका अनुसार हिउँद र प्रि–मनसुनको समयमा जंगलमा लाग्ने डढेलोको धूवाँ काठमाडौंमा आउने गर्छ।
‘कम वर्षा र सुक्खा मौसमले धुलो र प्रदूषक तत्वहरू हावामै रहन्छन्, जसले प्रदूषणको स्तर बढाउँछ। चिसो मौसम सकिएर वातावरणमा तापक्रम बढ्दै गएको छ। लामो समयदेखि पानी पर्न सकेको छैन। पानी नपरेका कारण वायुमण्डलको फोहोर तैरिएर बसेको छ। भूबनोटका कारण काठमाडौँको हावा सजिलै बाहिर जान सक्दैन। उपत्यकामा माथिल्लो तहमा हावाको वेग चल्ने तर तलको भागमा नचल्ने भएकाले हावा निस्कन सक्दैन। काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणमा आउन पानी नै पर्नुपर्ने हुन्छ,’ उनले भने।
उनका अनुसार उत्तरपश्चिम र दक्षिण पश्चिमबाट काठमाडौँ उपत्यकामा प्रवेश गर्ने हावा उडेर पूर्वमा साँखुबाट बाहिरिन्छ। तर हावा नचल्ने, पानी नपरेकाले उपत्यकाको वायु गुणस्तर झनै खराब भएको हो।
‘सुख्खायाममा प्रदूषणका स्रोतहरू थपिन्छन्। चैत, वैशाखको समयमा डढेलो लाग्ने इँटाभट्टा चल्ने, फोहोर जलाउने जस्ता क्रियाकलाप बढ्छ। जसले वायुमण्डलमा प्रदूषणको मात्रा बढाउने गरेको छ। जंगलमा डढेलो लाग्ने, झन् सामुदायिक वनमा पातपतिङ्गर जलाउन आगो लगाउने गरिन्छ। डढेलोले हावाको गुणस्तरलाई कम गराउँछ। त्यसैले प्रदूषण उच्च हुँदै जाने गरेको छ,’ उनले भने।
काठमाडौँमा सवारी साधनको संख्या तीव्र रूपमा बढेको छ। पुराना र मर्मत नभएका सवारी साधनहरूबाट निस्कने धुवाँ र खाना पकाउने क्रममा निस्कने धुवाँले पनि वायु प्रदूषण बढाउने गरेको वातावणविद् तुलाधर बताउँछन्।
वातावरण विभागका अनुसार मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको छ। विगत केही हप्तादेखि तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ। केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको भन्दै विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन र सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुवाँधुलो नियन्त्रण गर्न आग्रह गरेको छ।
विभागले सूचना प्रकाशन गरी सवारी साधनको नियमित मर्मतसम्भार गर्न, उद्योग, कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न भनेको छ।
वातावरण प्रदूषणले स्वास्थ्यमा पार्ने असर
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार २४ घन्टामा हावामा रौँभन्दा झण्डै तीन गुणा मसिना कण (पीएम–२.५) को मात्रा १५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भए वायु प्रदूषण भएको मानिन्छ। त्रिवि शिक्षण अस्पतालका जनरल फिजिसियन डा. सविन थपलियाका अनुसार यस्ता कण हृदयरोग, मस्तिष्काघात, क्यान्सर र फोक्सोको रोगको कारण मानिन्छ।
‘प्रदूषण बढ्न थालेसँगै विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामीको चाप बढ्न थालेको छ। वातावरण प्रदूषण बढ्दा तत्काल असर गर्नेदेखि दीर्घकालीन असर पार्ने गरेको छ। आँखा पोल्ने, चिलाउने, नाक सुख्खा हुने, खोकी लाग्ने, घाँटी चिलाउने र श्वासप्रश्वासमा समस्या जस्ता समस्या देखिन्छ। लामो समयसम्म प्रदूषणमा बस्ने व्यक्तिमा भने क्यान्सर, दम, सीओपीडीको समस्या देखिने गरेको छ,’ डा. थपलियाले भने, ‘विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनु पर्छ। प्रदूषणले मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप, हृदयाघात बढाउँछ। क्यान्सर, मधुमेह, रक्तचाप तथा हृदयाघातका बिरामीको संख्या र मृत्युदर बढ्नुमा प्रदूषण नै प्रमुख कारक हो।’
प्रदूषण बढेको समयमा अत्यावश्यक काम भए मात्र घरबाट बाहिर निस्कने, मास्क लगाएर मात्र हिँड्ने, बिहानकोे समयमा प्रदूषण उच्च हुने हुँदा सकेसम्म बाहिर नहिँड्ने, घरभित्र वायु प्रदूषण बढाउने क्रियाकलाप कम गर्न चिकित्सकहरू सुझाव दिन्छन्।
वायु प्रदूषण नियन्त्रण तथा रोकथामका लागि सरकारले इन्धनबाट बर्सेनि छुट्टै कर उठाउँदै आएको छ। सरकारले आर्थिक ऐन, २०७८ अनुसार यो कर उठाउँदै आएको छ। इन्धनबाट प्रतिलिटर १.५० रूपैयाँको दरले आर्थिक वर्ष २०६५/६६ देखि रकम उठाउँदै आएको छ।
जसबाट वार्षिक १ अर्ब रकम जम्मा हुँदै आएको छ। तर, सरकारले वायु प्रदूषण नियन्त्रणका लागि उठाइएको करको रकम प्रदूषण कम गराउन प्रयोग गरेको छैन।
Shares

प्रतिक्रिया