समाज


अमेरिकाबाट फर्काइएका २१ पुरातात्विक सम्पदा स्थानीय तहमा हस्तान्तरण (तस्बिरहरू)

अमेरिकाबाट फर्काइएका २१ पुरातात्विक सम्पदा स्थानीय तहमा हस्तान्तरण (तस्बिरहरू)

नेपालखबर
चैत १७, २०८१ आइतबार १२:४४, काठमाडौँ

नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्त्वका सम्पदा नेपाल फिर्ता ल्याइएको छ।

पुरातत्व विभागले आइतबार बिहान ती कलात्मक वस्तुलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

अमेरिकाबाट ल्याएर स्थानीय तहमा हस्तान्तरण गरिएका वस्तुमा तीनवटा पौभा चित्रहरू १५-१८ औं शताब्दीका रहेका छन्। यी पौभा चित्र काठमाडौंस्थित इतुम्बहालबाट विसं २०३७ सालमा हराएका थिए।

एउटा प्रस्तरबाट निर्मित बुद्धको मूर्ति ९ औं शताब्दीको रहेको पाइएको छ। उक्त मूर्ति ललितपुरको बुङमतीको मछिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो।

पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति १२–१३ औँ शताब्दीको मानिएको छ। यो मूर्ति अमेरिकाको सिकागोस्थित आर्ट इन्स्टिच्युटबाट फिर्ता भएको हो।

अन्य १६ वटा कलात्मक वस्तुहरू ९ देखि १९औं शताब्दीका नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए।

हस्तान्तरण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संसारको जुनसुकै ठाउँबाट पनि नेपाली सम्पदा फर्काउन सकिने भएकाले अब नेपालबाट मूर्तिहरू चोर्ने कुचेष्टा कसैले गर्न नसक्ने बताए।

अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ वटा पुरातात्विक महत्त्वका मूर्ति तथा अन्य कलात्मक वस्तु विभिन्न व्यक्ति तथा संघसंस्थाको प्रयासबाट फिर्ता भइसकेको विभागले जानकारी दिएको छ। अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका वस्तुको संख्या १०४ पुगेको छ।

विभागका अनुसार, अमेरिका, फ्रान्स, बेलायत, चीन, अस्ट्रिया, अस्ट्रेलियाजस्ता देशहरूबाट थप अरू केही कलात्मक वस्तु फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad