समाज


यी तीनमध्ये एक आज बन्नेछन् ३१औँ आईजीपी

यी तीनमध्ये एक आज बन्नेछन् ३१औँ आईजीपी

नेपालखबर
चैत ४, २०८१ सोमबार ९:४२, काठमाडौँ

सरकारले आज (चैत ४ गते) प्रहरी महानिरीक्षक (बढुवा) नियुक्त गर्ने भएको छ।

आजै रातिबाट प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर अवकाश हुने भएकाले मन्त्रिपरिषद्ले नयाँ नियुक्त गर्न लागेको हो। 

तर कुँवरको अवकाश हुने दिनसम्म पनि आगामी आईजीपी को बन्छ भन्ने अनिश्चित छ।

पाँच एआईजी पनि आजै अवकाश हुने हुँदा आईजीपीको दाबेदारमा तीन जना छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङमध्येबाट सरकारले आईजीपी बनाउनेछ।

उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। थापा एआईजी बनेको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए। अब बन्ने आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्।

त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्। तर ३० वर्षे हट्ने गरी ल्याइएको विधेयक संसद्‌बाट पारित भएमा सेवा अवधि थप हुन सक्नेछ। विधेयक संसद्‌मा विचाराधीन छ।

कसको कार्य अनुभव कस्तो?

हाल सीआईबी प्रमुख थापाले यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी र एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुखका रूपमा काम गरेका छन्।

थापाले प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको इन्चार्ज भएर काम गरेका थिए।

नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायल, इलाका प्रहरी कार्यालय मैकोट रुकुम, इलाका प्रहरी कार्यालय कात्तिके देउराली र हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरेको थिए।

त्यसपछि डीएसपीमा बढुवा भएपछि पनि थापाले विभिन्न युनिट सम्हालेका छन्।

जिल्ला प्रहरी कार्यालय खोटाङ, प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगन्जमा थापाले कमान्ड सम्हाले।

डीएसपीमै इलाका प्रहरी कार्यालय बुटवल, हेडक्वार्टरको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी कार्यालय मोरङ, सुनसरी, मकवानपुरमा पनि माम गरेका थिए। एसपीमा बढुवा भएपछि अख्तियारको कोहलपुर र बुटवल काम गरेका उनी चितवनको प्रहरी प्रमुख बने।

हेडक्वार्टरको बजेट शाखामा पनि उनले काम गर्ने माैका पाए। एसएसपीमा बढुवा भएपछि आर्थिक प्रशासन महाशाखा, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बने। त्यसपछि वृत्ति विकास महाशाखा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा काम गरेका उनी त्यसपछि डीआईजीमा बढुवा भए। यसपछि प्रबन्ध निर्देशनालयमा पदस्थापन भएका उनले बागमती प्रदेश प्रहरी प्रमुख भए। छोटो समयमै एआईजी बनेपछि सबैभन्दा आकर्षक कार्यालयमा थापाले काम गरेका छन्।

थापा पछिल्ला हरेक सरकारका रोजाइमा पर्दा छानीछानी पोस्टिङ पाउन सफल भए।

आईजीपीका अर्का दाबेदार सुदीप गिरी एआईजी बनेपछि प्रदेश समन्वय विभागमा पदस्थापन भए। त्यसपछि प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका हुन्।

गिरीले प्रहरी सेवाको सबैभन्दा लामो समय विशेष ब्युराेमा बिताएका छन्। इन्स्पेक्टर हुँदै विशेष ब्युरोमा काम गरेका उनले डीआईजी भएपछि विशेष ब्युरोको प्रमुख भएर पनि काम गरे।

४ वर्षसम्म केन्द्रीय विशेष कार्यदलमा बसेपछि यूएन मिसन गए र फेरि विशेष ब्युरोमै फर्किए।

डीएसपीमा बढुवा भएपछि कालीमाटी र कार्यदलको इन्चार्ज भएर काम गरे। एसपीमा पर्सा जिल्लाको कमान्ड गरेका उनी फेरि विशेष ब्युरोमै फर्किए। एसपीमा सीआईबी र जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुखका रूपमा पनि उनले काम गरे।

एसएसपी र डीआईजी हुँदा पनि उनी सीआईबीमा बसेका थिए। त्यसपछि उनी काठमाडौँ प्रहरी प्रमुख बने। डीआईजीमा बढुवा भएपछि विशेष ब्युराेको प्रमुख भएका उनले कोसी प्रदेश प्रमुख बनेर पनि काम गरे।

एआईजीमा दुई वर्ष दुईवटा कार्यालयमा रहेका उनलाई अब आईजीपी बन्ने मौका छ।

आईजीपीका अर्का दाबेदार हुन्- टेकबहादुर तामाङ। एआईजी तामाङ काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन्। ५ वर्ष अख्तियारमा बिताएका उनले बढी समय तालिम केन्द्रमा काम गरे।

इन्स्पेक्टर हुँदा इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुर, इलाका प्रहरी कार्यालय गजुरी धादिङ, तत्कालीन वडा प्रहरी कार्यालय सानेपा, वडा प्रहरी कार्यालय लैनचौरको प्रमुख भएर काम गरे।

डीएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङको कमान्ड गरेका उनले डीएसपीमै इलाका प्रहरी कार्यालय धरान र प्रहरी वृत्त कालिमाटीको कमान्ड सम्हालेको अनुभव पनि उनीसँग छ।

एसपी बढुवा भएर जिल्ला प्रहरी कार्यालय बाँके, पहरा गण सामाखुसी र अख्तियारमा काम गरे। एसएसपीमा बढुवा भएपछि विराटनगर प्रहरी तालिम केन्द्र पुगेका उनी फेरि अख्तियारमै फर्किए।

डीआईजीमा बढुवा भएर पनि उनी अख्तियारमै रहे। एआईजीमा अपराध अनुसन्धान विभागको प्रमुखमा पदस्थापन भएका उनी त्यहाँबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad