समाज


एसईई परीक्षा दिने विद्यार्थीलाई शिक्षामन्त्रीको सन्देश : नडराइ लेख्नू

एसईई परीक्षा दिने विद्यार्थीलाई शिक्षामन्त्रीको सन्देश : नडराइ लेख्नू

नेपालखबर
चैत १, २०८१ शुक्रबार १८:२३, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा जानेका कुरा नडराई लेख्न आग्रह गरेकी छन्।​ उनले आज एसइईको शुभकामना सूचना जारी गर्दै परीक्षार्थीलाई उक्त आग्रह गरेकी हुन्।

उनले एसइई परीक्षा विद्यार्थीहरूको ज्ञान, सीप परीक्षण गर्ने सुनौलो अवसर रहेको पनि बताइन्। उनले भनिन्, ‘तपाईं एक स्तरीकृत परीक्षामा सहभागी हुँदै हुनुहुन्छ। यो परीक्षालाई डर र त्रासका रूपमा नलिई आफूले सिकेका कुरा व्यवस्थित ढङ्गले प्रस्तुत गर्न तपाईंले तयारी गर्नुपर्छ।’

उनका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखाबाट चैत १ गतेदेखि परीक्षामा उत्तर लेख्ने तरिका सिकाइँदै छ। ‘यी सामग्री हेरेर सुनेर तपाईंहरूले आफ्नो लेखन कला सुधार गरी अब्बल नतिजा निकाल्न सक्नुहुन्छ’, उनले भनिन्, ‘म तपाईंहरूलाई धैर्यपूर्वक तयारी गरी सबै प्रश्न समाधान गरेर उन्नत नतिजा निकाल्न हार्दिक शुभकामना व्यक्त गर्दछु। परीक्षाका लागि विद्यार्थीलाई सहयोग गरिदिन प्रधानाध्यापक, शिक्षक र अभिभावकमा अनुरोध गर्छु।’ 

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत ७ गतेदेखि सञ्चालन हुँदै छ। यो परीक्षा चैत ७ गतेदेखि शुरु भएर १९ गते सकिनेछ। एसइई परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइई परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा, संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद,नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad