नेपाल विद्युत प्राधिकरणले आफ्नो कारणले थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति नपुगेको जनाएको छ।
यही फागुन ७ गते थापाथलीमा खानेपानीको पाइप फु्टदा सडकमा क्षति पुग्नुका साथै दिनभरि सडकखण्ड अवरुद्ध भएको थियो। मेलम्ची आयोजनाले विद्युत् प्राधिकरणको कारण थापाथलीमा खानेपानीको पाइप फुटेको आरोप लगाएपछि प्राधिकरणले त्यसलाई अस्वीकार गरेको हो।
उक्त क्षेत्रमा विद्युतीय लाइन भूमिगत गर्ने काम साढे तीन वर्षअघि नै सकिएको भन्दै प्राधिकरणले आफ्नो कारणले खानेपानीको पाइपमा क्षति नपुगेको दाबी गरेको छ।
प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले सन् २०२१ सेप्टेम्बर/अक्टोबरमा म्यानुअल विधिमार्फत खनेर जमिन सतहभन्दा करिब १.१ मिटर मुनि पाइप बिछ्याइएको र त्यसले खानेपानीको पाइपमा कुनै क्षति नपुगेको बताए।
हाल उक्त विद्युत वितरण लाइन चालू रहेको र खानेपानी वितरण लाइनसँग विद्युत वितरण लाइनको हालसम्म कुनै समस्या नरहेको प्रवक्ता घोषको भनाई छ।
‘खानेपानीको पाइप फुटेको क्षेत्रमा साँघुरो बाटो रहेकाले होरिजन्टल डिरेक्सन ड्रिलिङ प्रविधि प्रयोग नगरी म्यानुअल्ली काम गरिएकाले खानेपानीको पाइपमा कुनै पनि क्षति पुगेको छैन’, उनले भने, ‘प्राधिकरण र केयुकेएलबीच सन् २०२२ अप्रिलमा विद्युतीय पाइप र खानेपानी पाइपबीचमा कमसेकम ०.५ मि. तेर्सो/ठाडो दूरी रहने गरी सहमति भएको थियो। उक्त सहमतिलाई पूर्ण रुपमा कार्यान्वयन गरी हामीले काम गरेका छौँ।’
Shares

प्रतिक्रिया