यही फागुन १५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–३ ढल्पा स्थित एक डेरा कोठामा भएको चोरीका सामानसहित तीनजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाञ्चोकको मेलम्ची नगपालिका–१३ घर भई हाल काठमाडौँ महागरपालिका–१३ डेरा गरी बस्ने वर्ष ५२ को राज कुमार कार्की, धादिङको महादेववेशी गाउँपालिका– ६ का वर्ष ३३ को फुल बहादुर तामाङ र भारतको बिहार घर भएका वर्ष ३२ को महोमद इमरान रहेका छन्।
उनीहरूले कोठाको ताला तोडफोड गरी सुन तथा चाँदीका गरगहना लगायतका सामानहरु चोरी गरेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा उक्त चोरीमा संलग्न तीनैजनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूबाट सुनको जस्तो देखिने कानमा लगाउने रिङ थान–२, सुनको जस्तो देखिने गालेको अवस्थामा रहेको सिक्का थान–१, हातमा लागाउने घडी थान–१, चाँदीको जस्तो देखिने तिलहरी थान–१, चाँदी जस्तो देखिने बाला थान–४, सुनको जस्तो देखिने पोते सहितको तिलहरी थान–१ नगद रु ३०००, सामसङ कम्पनीको मोबाइल थान–१, टम्बो कम्पनीको किप्याड मोबाईल थान– १ बरामद भएको छ।
यस्तै, डेल कम्पनीको कालो रंगको ल्याप्टप थान–१, एकर कम्पनीको निलो रंगको ल्याप्टप थान–१, एप्पल कम्पनीको कालो रंगको ल्याप्टप थान–१, आईफोन मोबाइल थान–१, चाबीहरु फुटाउन प्रयोग गरेको फलामे रड पनि प्रहरीले बरामद गरेको छ।
Shares

प्रतिक्रिया