समाज


पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलामाथि प्रत्येक क्षण प्रश्न उठ्छ: न्यायाधीश मल्ल

पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलामाथि प्रत्येक क्षण प्रश्न उठ्छ: न्यायाधीश मल्ल

नेपालखबर
फागुन २६, २०८१ सोमबार १२:१३, काठमाडौँ

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भए पनि पर्याप्त नरहेको बताएकी छन्।

सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको धारणा पनि राखिन्।

उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्ने कुरा आजको बहसको विषय भएको उनको भनाइ थियो।

पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन्।

न्यायाधीश मल्लले भनिन्, ‘यूएन वुमनले एक्सेस टु जस्टिसको अध्ययन गर्दा एकपटक सय जना महिलालाई अध्ययन गरेर हेरेको थियो। उनीहरूमध्ये ७५ प्रतिशतले हामी अदालत जाँदैनौँ भने। किनभने कानुन पनि विभेदपूर्ण छ। न्यायपालिकामा जाँदा सबै पुरुष नै पुरुषका बीचमा आफ्ना कुरा भन्नै अफ्ठ्यारो लाग्छ। सहज वातावरण कसरी सिर्जना गर्ने? आजकाल त गर्व लाग्छ। किनभने, महिला अधिकृतहरू बेन्चमा हुनुहुन्छ, बहस गर्ने सरकारी वकिल पनि धेरै महिला हुनुहुन्छ, वैतनिक वकिल पनि महिला हुनुहुन्छ र निजी क्षेत्रबाट धेरै वकिल नै हुनुहुन्छ। सुरक्षा दिन पनि महिला नै हुनुहुन्छ। पत्रकारहरूले जुन कभर गर्नुहुन्छ कानुनको, त्यहाँ पनि महिलाले नै नेतृत्व गर्नुहुन्छ।’

निर्णायक तहमा महिलाको उपस्थिति कम रहेको उनको भनाइ थियो।

‘त्यो भनेर हामीले पुरुष पनि हाम्रो लागि महत्त्वपूर्ण हुन्छ। महिलाको उपस्थिति केही हदसम्म देखिएको छ तर पर्याप्त छैन। निर्णायक तहमा महिलाको उपस्थिति कम छ। उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो? पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ। हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ।’

न्यायाधीश मल्लले स्वच्छ र समानतामूलक न्याय आजको आवश्यकता भएको पनि बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad