काठमाडौँको शंखरापुरमा टहराभित्र छिरेर टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु घएको छ।
गएराति दशजना सुतिरहेको आश्रयस्थलमा छिरेको टिररले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
‘शंखरापुर नगरपालिका-६ साँखुको सलम्बुटारस्थित साँखु-ब्रम्हखेल सडककाे छेउमा रहेकाे आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ,’ एसपी बोहोराले नेपालखबरसँग भने, ‘उक्त टहरामा १० जना सँगै सुतेका भए पनि अरु सातजनालाई केही भएको छैन।’
द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले सञ्चालन गर्दै आएकाे जस्ताको टहराको आश्रयस्थलमा आज बिहान करिब पौने चार बजे बा २ क ६५८० नम्बर टिपर छिरेको हो। टिपरले किच्दा तीन जनाको मृत्यु भएको बोहराले बताए।
टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ वर्षका हरिजनको मृत्यु भएको हो। उनीहरुको स्थायी ठेगाना र थर खुलेको छैन। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा परेकाे टिपरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सलम्बुटारमा ०६२ सालदेखि उक्त आश्रयस्थल सञ्चालमा रहेको स्थानीयले बताएका छन्। युवराज थापाले सञ्चालन गरेको उक्त संस्थामा हाल ६१ जना बस्दै आएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी बोहोराले बताए।

Shares

प्रतिक्रिया