समाज


अध्यागमन मुलुकको ऐना हो, पर्यटकलाई राम्रो व्यवहार गरौँ : गृहमन्त्री लेखक

अध्यागमन मुलुकको ऐना हो, पर्यटकलाई राम्रो व्यवहार गरौँ : गृहमन्त्री लेखक

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १४:१३, काठमाडौँ

रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ। मंगलबार गृहमन्त्री रमेश लेखकले उक्त भवनको उद्घाटन गरेका छन्।  

भवनको उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नाकामा बनेका पूर्वाधारहरुले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताए। 

मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको र सेवाप्रवाह चुस्त हुनुपर्नेमा उनले जोड दिए। 

'पछिल्ला दिनमा सबै ठाउँँबाट पर्यटक आगमन राम्रो छ। यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ। हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौँ,' उनले भने, 'हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो। पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ।'

गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरुले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न सुझाए। उनले कर्मचारीहरुको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गरे। 

'अध्यागमन भनेको मुलुकको ऐना हो। कर्मचारीहरुले सेवा दिँदा सभ्यता र विनम्रता पूर्वक ढंगले दिनुपर्छ। कहिलेकाही पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तोबला हाम्रो व्यवहार विनम्रता पूर्वक प्रस्तुत हुनुपर्छ। सेवाको भावनाले काम गर्नुपर्छ,' उनले भने, 'कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्न हुँदैन। यस्तो छुट कसैलाई पनि छैन।'

उनले नेपालीहरु संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका मान्छे भएको जनाउँदै अध्यागमनमा जस्तो व्यहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताए। 

गृहमन्त्री लेखकले वर्तमान सरकार बनेको आठ महिना हुन लागेको र सरकारले समृद्धिलाई पछ्याइरहेको जनाए। 

सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री लेखकको भनाइ छ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरु देखा परेको उनको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad