समाज


सप्तरीमा गाउँ पसेको बाघले आक्रमण गर्दा ३ जना घाइते

नियन्त्रणमा लिने प्रयास हुँदै
सप्तरीमा गाउँ पसेको बाघले आक्रमण गर्दा ३ जना घाइते

सुमन सुस्केरा
फागुन १९, २०८१ सोमबार १२:३२, विराटनगर

सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेको छ। आज बिहान करिब ८ बजेतिर  सप्तकोसी नगरपालिका वडा नम्बर- १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको हो।  

बाघले केही व्यक्तिलाई आक्रमण गरेको छ। बिहानै गाउँ पसेको बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुर र कोसी टप्पु वन्यजन्तु आरक्षको टोली परिचालित भएको छ। 

ठूलो संख्यामा रहेको टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको डिभिजन वन कार्यालय सप्तरीका सूचना अधिकारी बैजनाथ मण्डलले जानकारी दिए। उनले भने, ‘बिहानै जंगलबाट गाउँमा पसेको बाघलाई नियन्त्रणमा लिने प्रयास अहिले पनि जारी छ।’

शिवालय टोलमा रहेको रिजन गोसाईंको घरमा छिरेर बाघले उनी माथि आक्रमण गरेको छ। त्यहाँबाट बाघलाई नियन्त्रणमा लिन डार्ट गोली हानिएको भए पनि बाघ नियन्त्रणमा आउन सकेन। 

त्यहाँबाट निस्किएको  बाघले गणेश खत्रीको घरमा पुगेर उनी माथिसमेत आक्रमण गरेको छ। उक्त बाघले लगत्तै स्थानीय कृष्ण विष्टलाई आक्रमण गरेको रक्तमाला सामुदायिक वनका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।

‘मान्छेलाई आक्रमण गर्दै हिँडेको बाघ नजिकैको फर्निचर भित्र पसेको थियो,’ उनले भने, ‘त्यहाँ बाघले मोटरसाइकल र अन्य सामानहरुमा पनि क्षति पुर्याएको छ।’ 

अहिले बाघ स्थानीय परशुराम खड्का र पुल्की चौधरीको घर नजिकै बसिरहेको इलाका वन कार्यालय फत्तेपुरका रेन्जर दीपक टमाटाले जानकारी दिए। 

बाघ गाउँमा पसेपछि सप्तकोसी नगरपालिका- १ फत्तेपुर, शिवालय टोलका नागरिक त्रसित भएका छन्। घाइतेमध्ये कृष्ण विष्टलाई उपचारको लागि इटहरी लगिएको छ भने दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad