काठमाडौँ विश्व विद्यालय (केयू)का प्राध्यापकहरुले उच्च प्राज्ञिक क्षमता भएका व्यक्तिलाई मात्रै उपकुलपति बनाउनु पर्नेमा जोड दिएका छन्।
काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै आगामी तीन दिनभित्र केयूमा उपकुलपति नियुक्त नभए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
संघका सभापति डा.विकास अधिकारी र महासचिव तेजेश मान शाक्यले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। गएको माघ ६ गतेदेखि काठमाडौँ विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ।
‘नयाँ उपकुलपतिको नियुक्ति लम्बिँदा विश्वविद्यालय भित्र र बाहिर विभिन्न खाले भ्रमहरु सिर्जना हुनुको साथै गैर प्राज्ञिक गतिविधि बढेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपतिको नियुक्तिलाई राजनीतिक खिचातानीको विषय बनाउँदा विश्वविद्यालयमा प्राज्ञिक वातावरण धुमिलिएको छ। अब विलम्ब नगरी तीन दिनभित्र आवश्यक प्रक्रिया पुर्याएर नयाँ उपकुलपति नियुक्त गर्न प्राध्यापक संघ हार्दिक अपिल गर्दछ।’

यदि आगामी तीनदिन भित्र पनि केयूमा नयाँ उपकुलपति नियुक्त नभए चरणवद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।
संघका सभापति डा.विकास अधिकारीले उपकुलपति नियुक्तिको विषयलाई जटिल बनाउनु नहुने बताए।
उनले विश्व विद्यालयका पदाधिकारीहरुले प्राध्यापक संघ-संगठनलाई विश्वविद्यालयमा राजनीति नगर भन्नु पर्नेमा उल्दै उपकुलपति नियुक्तिको विषयलाई राजनीतिकण गर्दा समस्या जटिल बनेको आरोप लगाए।
विश्वविद्यालयका प्राध्यापक र स्थानीयले केयूमा उपकुलपति नियुक्तिको विषयलाई लिएर कतिपयले काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको मान मर्दनसमेत गरिरहेको गुनासो गरेका छन्।
‘जसले काठमाडौँ विश्वविद्यालय स्थापना गरेर राज्यलाई विश्वविद्यालय दियो, उहाँकै मानमर्दन गर्ने काम भइरहेको छ। यसले विश्व विद्यालयको हित गर्दैन,’ एक प्राध्यापकले नेपालखबरसँग भने।
Shares

प्रतिक्रिया