महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करीब १३ सय जनशक्ति परिचालन गरेको छ।
शिवरात्रीको दिन स्वेदश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन सशस्त्र प्रहरी बल नेपालले नं. २० विपद् उद्वार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमाण्डमा फागुन १३ गते मंगलबार १० बजेदेखि सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ। मेलाको ओभरल कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूबाट एक सिफ्टमा ३ सय भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुनेछन्। महाशिवरात्रीका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको सुरक्षा र आसपासका क्षेत्रहरूमा हुनेसक्ने आपराधिक क्रियाकलाप रोक्न सादा पोशाकमा समेत सशस्त्र प्रहरी परिचालन गरिएको छ। सादा पोशाकमा परिचालन भएका सुरक्षाकर्मीले त्यस क्षेत्रमा भएका कामकारबाहीहरूको सुक्ष्म रुपले खबर संकलन गर्नेछन्।
त्यसैगरी आवश्यक परेको समयमा थप मद्दतको लागि नं. १९ बगलामुखी विशेष कार्यदल गणमा ३ प्लाटुन सुरक्षा फौज जुनसुकै बेला परिचालन हुन सक्ने गरि तयारी हालतमा राखिएको छ। मेला अवधिभर भक्तजनहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले खाने पानी तथा घुम्ती शौचालयको समेत व्यवस्था गरेको जनाएको छ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालले नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ। हेल्थ डेस्कबाट ४ जना चिकित्सकसहित २५ जनाले मेला अवधिभर स्वास्थ्य सेवा प्रदान गर्नेछन् भने नं २० विपद् उद्वार गणमा विपद् व्यवस्थापन तालिम प्राप्त १५ जनाको टोली आवश्यक सामाग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको पनि डीएसपी थापाले बताए।
Shares

प्रतिक्रिया