सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड एन्ड स्टाफ कोर्सका तालिमरत ६७ जना अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण गरेका छन्।
अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले स्वागत गर्दै भम्रण कार्यक्रमसम्बन्धी जानकारी गराएका थिए।
यस क्रममा सहभागी अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गरेका थिए।

अवलोकनपश्चात् आयोजित कार्यक्रममा प्रहरी नायब महानिरीक्षक आचार्यले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरीबीचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजन लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।
साथै, उनले अन्तर्क्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरीसम्बन्धी विविध विषयमा राखेका जिज्ञासाको निरूपण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न दुवै संगठनबीच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहने बताए।
कार्यक्रममा सेनानी सुमनविक्रम शाहले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गरे।

Shares

प्रतिक्रिया