भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै होस्टेलबाट निकालिएको छ। उक्त विश्वविद्यालयमा तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले होस्टलमा आत्महत्या गरेको विषयमा नेपाली विद्यार्थीहरूले उजुरी दिएपछि घटनाले उग्ररुप लिएको हो। आत्महत्या गरेकी लम्साल विश्वविद्यालयकै अर्का विद्यार्थीको प्रेम सम्बन्धमा रहेको पाइएको र आत्महत्याको कारण स्पष्ट नभए पनि, प्रेमसम्बन्धमा आएको खटपाट हुन सक्ने अनुमान गरिएको एएनआईले उल्लेख गरेको छ।
'साथीको मृत्युलाई लिएर हामीले विरोध गरिरहेका थियौं। तर, हामीलाई एक्कासी होस्टेलबाट जबरजस्ती निस्किन भन्दै निर्देशन दिइयो,' एएनआईसँग कुरा गर्दै नेपाली विद्यार्थी राजन गुप्ताले भने, 'हामीलाई थाहा छैन उनीहरूको उद्देश्य के हो, तर हामीलाई जबरजस्ती होस्टेल खाली गर्न लगाइयो। अब हामी कहाँ जाने? खाना खान पाएका छैनौँ, हामीले सूचना पायौं कि नेपालका सबै विद्यार्थीलाई निलम्बन गरिएको छ र उनीहरूले यथाशक्य छिटो होस्टल खाली गर्नुपर्छ।'
उनले विश्वविद्यालयका कर्मचारीहरू होस्टेलमा आएर कुटपिट गरेको पनि गुनासो गरे। उनले भने, 'कर्मचारीहरू होस्टेलमा आए, हामीलाई बाहिर निस्किन बाध्य बनाए र हामीमाथि उनीहरूलाई कुटपिटसमेत गरे।'
नेपालका विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनबाट घटनाको स्पष्ट जानकारी नपाएको गुनासो गरेका छन्। जानकारी माग्दा उचित जवाफ नपाएको भन्दै उनीहरूले क्याम्पसमा विरोध प्रदर्शन थालेका थिए।
विश्वविद्यालयले विद्यार्थीहरू बीच तनाब बढेको भन्दै उनीहरूलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेको एएनआईमा उल्लेख छ। 'परिस्थिति हेरेर हामीले नेपाली विद्यार्थीहरूलाई घर फर्काएका छौं। अहिले अवस्था शान्त छ' विश्वविद्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया